Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


‘नेकपाका नेता’ शेरमानको ‘बागी’ उम्मेदवारी, वाम गठबन्धनमा तरंग !


0
Shares

डम्मरबुढा मगर (इमेज)

बागलुङ, कात्तिक २१ । बागलुङ क्षेत्र नम्बर–२ ‘ख’ प्रदेशसभा सदस्य पदका लागि शेरमान घर्तीमगरले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उनले आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन् ।

सत्तारुढ दल नेकपाका नेतासमेत रहेका घर्तीको प्रस्तावकमा ददिराम शर्मा र समर्थकमा रिमबहादुर विक छन् ।

यहाँ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारकारुपमा खिमविक्रम शाहीको उम्मेदवारी दर्ता गराइएको छ ।

ढोरपाटन नगरपालिका–९ का घर्ती लामो समयदेखि वामपन्थी राजनीतिमा क्रियाशील व्यक्ति हुन् ।

उनले मनोनयनपत्र दर्ता गराएसँगै वाम गठबन्धन वृतमा तरंग पैदा भएको छ ।

४९ वर्षीय घर्ती राष्ट्रिय जनमोर्चा परित्याग गरी तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै नेकपाका नेता बनेका उनले पुनः जनमोर्चालाई नै भोट हाल्नुपर्ने बाध्यता पीडाजनक भएको भन्दै उम्मेदवारी दर्ता गराएका हुन् ।

यद्यपि, उनले आफू अहिलेसम्म नेकपाको सदस्य पनि नभएको जिकिर गरे ।

घर्तीले सन्चारकर्मीहरुसित कुरा गर्दै आफूले उम्मेदवारी फिर्ता नगर्नेसमेत बताए ।

पार्टीको कुनै कारबाहीबारे आफूलाई चिन्ता नभएको र पार्टीको सदस्यसमेत कुनै कारबाहीमा नपर्ने उनको भनाइ थियो ।

तर, उनले उम्मेदवारी फिर्ता गर्नेमा विश्वस्त रहेको नेकपाका नेताहरु बताउँछन् । नेकपाका एक नेताले आवेशमा जे बोले पनि उनले उम्मेदवारी फिर्ता गर्ने विश्वास गरिएको बताए ।

बागलुङ–२ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।