Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


कास्की–२ मा उम्मेदवारी दर्तापछि विद्या र खेमराजले के भने ? (८ तस्वीर)


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, कात्तिक २१ । कास्की निर्वाचन क्षेत्र नम्बर–२ का लागि बिहीबार मनोनयनपत्र दर्ता गरिएको छ ।

आउँदो मंसिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्  ।

विभिन्न राजनीतिक दलहरुले बाजागाजाका साथ र्‍याली र जुलुस लिएर पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।

कास्कीमा रहेका सत्तारुढ दल नेकपा, प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, विवेकशील पार्टी, साझा पार्टी र स्वतन्त्र उम्मेदवारहरु जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

उम्मेदवार

कास्की क्षेत्र नम्बर–२ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयनपत्र दर्ता गराएकी छन् । उनको समर्थकमा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् ।

यहाँ नेपाली कांग्रेसकाबाट खेमराज पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि उम्मेदवारको आकांक्षी रहेका देवराज चालिसे र सोभियतबहादुर अधिकारीको प्रस्ताव र समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, साझा पार्टीकी रजनी केसी, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस (बीपी) पार्टीका चन्द्रबहादुर रानाभाट, स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी, कमलजंग कुँवरलगायतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

जित सुनिश्चित : विद्या

उम्मेदवारी दर्तापछि नेकपाकी उम्मेदवार विद्या भट्टराईले विगतदेखि नै नेकपाले जितेको ठाउँ भएकाले आफ्नो जित सुनिश्चित रहेको बताइन् ।

‘पार्टी सरकारमा छ । सरकारले राम्रो काम गरेको छ । जनताले मनपराएका छन् । त्यही आधारमा पनि मैले चुनाव जित्छु’–उनले भनिन् ।

उनले थपिन्–‘रवीन्द्र अधिकारी लोकप्रिय हुनुहुन्थ्यो । उहाँले यहाँ राम्रो काम गर्नुभएको थियो । त्यतिबेलाका दुई दल अहिले एक भएको छ । त्यसले पनि मेरो जित निश्चित छ ।’

अनपेक्षित विजय : खेमराज

यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले यसअघिको निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता पूरा नगरेकाले आफ्नो जित सुनिश्चित रहेको बताए । उनले अनपेक्षित विजय हासिल गर्ने दाबीसमेत गरे ।

‘तपाइँको जितको आधार के ?’ भनेर सन्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले भने–‘अमेरिकामा ट्रम्पले चुनाव जित्छ भनेर कसैले भनेका थिए ? जिते । त्यसैगरी जितेर देखाइदिन्छु ।’

उनले सरकारले भ्रष्टाचार र महंगी नियन्त्रण गर्न नसकेको, अपराधीलाई संरक्षण गरेको आरोप लगाउँदै जनता रुस्ट रहेका कारण जनताले आफूले चुन्ने जिकिर गरे ।

यसअघि, २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए ।

अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

एक हजार २२० नयाँ मतदाता

जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

दुई वर्षअघि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि हालसम्म एक हजार २२० नयाँ मतदाता थपिएका हुन् ।

यसअघि, ७० हजार ६५१ जना मतदाता रहेको सो क्षेत्रमा त्यो संख्या बढेर ७१ हजार ८७१ पुगेको छ । उपनिर्वाचनका लागि ६१३ पुरुष र ६०७ जना महिला मतदाता थपिएका हुन् ।

कास्की–२ मा ३३ हजार १०६ जना पुरुष र ३८ हजार ७६४ महिला तथा एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

२०७४ को परिणाम

कास्की–२ मा यसअघि तत्कालीन नेकपा एमालेका उम्मेदवार रवीन्द्र अधिकारीले २७ हजार २०७ मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी देवराज चालिसेले १८ हजार ६६१ मत पाएका थिए । तेस्रो स्थानमा रहेका तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८४३ मत पाएका थिए ।

कास्की–२ मा पोखराका विभिन्न ११ ओटा वडा समेटिएका छन् ।