काठमाडौं, कात्तिक २० । नेपाल भ्रमणमा रहेको बेलायती टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले बुधबारदेखि नेपालको सिनियर टोलीसँग तीनदिवसीय खेल खेलिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरेको छ ।
पहिलो दिन खराब प्रकाशका कारण खेल रोकिनुपूर्व एमसीसीले ८६ ओभर खेल्दै ६ विकेट गुमाएर ३११ रन बनाएको छ ।
खेलमा एमसीसीका विल रोड्सले ७३, विल भान्डेर्सपारले ५३ र मिल्स हाम्मोन्डले ५२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषावाकरले समान २/२ विकेट लिएका छन् ।
बिहीबार दोस्रो दिन यासिर अराफातले ३५ तथा एलेक्स थम्पसनले २१ रनबाट एमसीसीको ब्याटिङ लाइन अगाडि बढाउनेछन् ।
तीनदिवसीय खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रथम श्रेणी अर्थात् ‘फस्ट क्लास’ क्रिकेटको मान्यता दिएको छ ।
नेपालले १४ वर्षपछि प्रथम श्रेणी खेलिरहेको हो । सन् २००५ को मार्चमा युएईसित कीर्तिपुर मैदानमा अन्तरमहादेशीय कप खेलेयता नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्न पाएको थिएन ।
हरेक दिन बढीमा ९६ ओभरमा खेल हुने फस्ट क्लास क्रिकेटमा एक टिमले दुई इनिङ्ससम्म ब्याटिङ गर्न पाउँछन् ।
नेपाल भ्रमणकाक्रममा एमसीसीले एकदिवसीयमा नेपाली राष्ट्रिय टिमसँग ५ विकेटको हार व्यहोरेको थियो । तीन दिवसीयपछि एउटा ट्वेन्टी–२० खेल हुनेछ ।





प्रतिक्रिया दिनुहोस्