Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुषसरह पारिश्रमिक


0
Shares

सिड्नी, कात्तिक २० । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडीसरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ ।

खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।

फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए)ले घोषणा गरेको नयाँ विधिअनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएनसरह पारिश्रमिक प्राप्त गर्नेछन् ।

महिला खेलाडीहरुले पुरुषझैं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा ‘बिजनेस क्लास’को टिकट पाउनेछन् ।

अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ किनभने उनीहरुले पनि अमेरिकी पुरुष फुटबल खेलाडीसरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरुको यस मुद्दामा अर्को वर्ष मे महिनामा सुनुवाइ हुँदैछ ।

संयुक्तराज्य अमेरिकाले यसै वर्ष फ्रान्समा आयोजित महिला विश्वकप प्रतियोगिता जितेको थियो । फाइनल खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्नेक्रममा ‘समान ज्याला’को नारा रंगशालामै गुन्जिएको थियो ।

अस्ट्रेलिया फुटबल एसोसिएसनका अध्यक्ष क्रिस निकोउले भने–‘फुटबल सबैको खेल हो र यो नयाँ साझा सम्झौताले समानता, समावेशिता र अवसरका क्षेत्रमा अस्ट्रेलियाली मूल्य–मान्यतालाई अझ बलियो बनाएको छ ।’

चारवर्षे यस सम्झौताबमोजिम सकरुज (पुरुष) र माटिल्डा (महिला) टिमले राष्ट्रिय टिमले गर्ने कुल आम्दानीको २४ प्रतिशत प्राप्त गर्नेछन् र यो हरेक वर्ष एक प्रतिशत वृद्धि हुनेछ ।

अर्को शब्दमा उनीहरु जति बढी सफल हुनसके भुक्तानी पनि त्यसै अनुपातमा बढ्नेछ ।

एफएफएका प्रमुख डेभिड ग्यालोपले सकरुजले महिला फुटबल टिमलाई पनि आम्दानी बाँड्न इच्छा देखाएको जानकारी दिए ।

अस्ट्रेलियाली पुरुष फुटबलका कप्तान मार्क मिलीगानले महिलाहरु पनि आम्दानीको समान हकदार रहेको बताए । रासस/एएफपी