Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


५० वर्ष पूरा गरेका पाँच जना खेलाडीलाई सम्मान


0
Shares

म्याग्दी । म्याग्दी जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा पदक जित्न सफल ५० वर्ष पूरा गरेका पाँच जना खेलाडीहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा एथलेटिक्सतर्फ ६१ वर्षिय मीनबहादुर पाइजा, पौडी तथा ड्राईभिङतर्फ अन्तर्राष्ट्रिय उपाधि विजेता समेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष ६१ वर्षिय क्या. डमबहादुर पुन, भलिबलतर्फ मिलन श्रेष्ठ र ५३ वर्षिया कौशीला खत्री तथा बक्सीङमा ७४ वर्षिय मानबहादुर बुढाथोकी रहेका छन् ।

राष्ट्रिय खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी पिताम्बर तिमिल्सीना, नेपाल ह्यान्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीलगायतले सम्मान गरेका हुन ।

टोड्के हिल्स रिसोर्ट प्रालिले आयोजना गरेको ५० वर्ष माथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा समावेश खेलाडीहरुको सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष तिमिल्सीनाले खेलकुदको माध्यमद्वारा पर्यटक प्रवर्धन गर्न सकिने बताउँदै खेल पूर्वाधारको विकाससँगै खेलाडीहरुको हितमा नीतिगत सुधारको पहल आवश्यक रहेको बताए ।