२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेकपा सचिवालय बैठकमा उम्मेदवारबारे छलफल, ‘घोषणा भोलि’


0
Shares

काठमाडौं, कात्तिक १६ । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कास्की क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसहित तीन प्रदेशसभा सदस्य, धरान उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउन नसकेको हो ।

सचिवालय बैठक आइतबार पुनः बस्ने गरी टुंगिएको छ ।

बैठकमा पार्टीका तल्ला कमिटीले सिफारिस गरेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयरका सम्भावित उम्मेदवारहरुबारे छलफल भएपनि निर्णय हुन सकेन ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिफारिस उम्मेदवारबारे छलफल भएको र भोलि बस्ने बैठकले अन्तिम निर्णय गर्ने जानकारी दिए ।

‘सिफारिसहरु अध्ययन गरेका छौं । त्यसमाथि प्रारम्भिक छलफल सुरुआत भएको छ’–उनले भने–‘अहिले समयाभावका कारणले भोलिको बैठकबाट हामी प्रतिनिधिसभा, प्रदेशसभा र कतिपय मेयरका उम्मेदवारहरु घोषणा गर्नेछौं ।’

नेकपा गन्डकी प्रदेश कमिटीले कास्की निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि स्व. रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईसहित तीनजनाको नाम सिफारिस गरेको छ ।

यस्तै, तल्ला कमिटीलेहरुले दाङ, बाग्लुङ र भक्तपुरमा रिक्त रहेको प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारका नामहरु सिफारिस गरिसकेका छन् ।

मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे पनि छलफल भएको जनाइएको छ ।