
बैतडी, कात्तिक १५ । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको लिंग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदुर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।
जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने बिहीबार आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान सुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप म्याद मागेकाले म्याद थपिएको बताइएको छ । न्यायालयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
कात्तिक ८ गते पिथौरागढको मडधुरामा पुुर्चौंडी–५, दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ बीरा बोहरा र पुर्चौंडी–४, भटना तडीखेतका काशी बोहराको हत्या भएको थियो ।
घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले कात्तिक ११ गते भारतकै मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणामा लिएको हो ।
पुर्चौंडी नगरपालिका–५ घर भएका बोहराले तीन नेपाली मजदुरको हत्या आफूले गरेको भारतीय प्रहरीसमक्ष स्वीकार गरेका छन् । पक्राउ परेका बोहरा भारतमै मजदुरी गर्दै आएका थिए ।
बोहराले प्रहरीसमक्ष कात्तिक ८ गते चारैजनाले रक्सी खाएको र पछि रक्सी थप पिउने विषयमा विवाद हुँदा ढुंगाले तीनैजनाको टाउकोमा हिर्काएको र त्यसपछि आफैंले उनीहरुको हँसियाले लिंग काटेको बयान दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्