२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जुवाको खालबाट एकै दिनमा एकसय तीनजना जुवाडे पक्राउ


0
Shares

काठमाडौं । देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज(सोमबार) एकसय तीनजना पक्राउ परेका छन् ।

भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

आज बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ 

यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट १७ जनासहित रु दुई लाख ८२ हजार र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् ।

उनीहरूबाट रु दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार खिचिएको छ ।

दाङको लमही नगरपालिका–५ आज बिहान पक्राउ गरिएका आठजनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित नगद रु छ लाख ७८ हजार बरामद भएको छ । रासस