२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


प्रगतिशील देउसीमा सुरुङ, रेल र जलमार्गका गीत


0
Shares

प्रकाश सिलवाल (रासस)

काठमाडौं, कात्तिक ९ ।

‘सुरुङमार्ग, रेलमार्ग, बन्ने जलमार्ग

कुरा सुन्दा पनि आज खुसी लागिरा’छ

समृद्धिको सपनाको साकार रूप चाहियो

नेपालीको मुहारमा खुसी सुख चाहियो ।’

उज्ज्यालो र सद्भावको चाड दीपावलीमा समाज रुपान्तरणमा सघाउने गीत–संगीत र रचनासहित समाजका अन्य वर्गझैं स्रष्टाहरु पनि आपसमा देउसी–भैलोको रमाइलोमा कस्सिएका छन् ।

मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकांक्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी–भैलोकाक्रममा साहित्यकार र कलाकारबाट साहित्यिकरूपमै अभिव्यक्त भएको छ ।

तिहारकै अवसरमा सिस्नुपानी नेपालले हरेक वर्ष व्यंग्यात्मक एवं चेतनामूलक देउसी–भैलोको आयोजना गर्दै आएको छ ।

जनसांस्कृतिक महासंघ नेपालले पनि सामूहिक देउसी–भैलो र नाचगानको कार्यक्रम सन्चालन गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा भएको देख्न चाहने स्रष्टाहरुले रचनामार्फत् समृद्धिको समनाको साकार रुपको माग गरेका हुन् ।

सामन्तवाद र साम्राज्यवादविरोधी वामपन्थी लेखकको मोर्चाकारूपमा वि.सं. २००९ देखि कार्यरत् प्रगतिशील लेखक संघ (प्रलेस) तिहारको देउसी–भैलो परम्परालाई सांस्कृतिक रुपान्तरणसहित सामाजिक उन्नयनको ध्येय लिएर काठमाडौंका विभिन्न साहित्यकार र साहित्यप्रेमीको निवासमा पुगेको छ ।

वामपन्थी लेखकहरुले धर्मका आधारमा जोडिएका चाडहरुलाई पुरानै शैलीमा मनाउन नहुने र ‘बलि राजाले पठाएको’ भन्ने सन्देशको देउसी–भैलो कार्यक्रम आयोजना गर्न नहुने तर्क पनि सुनिने गरेका छन् ।

तर, प्रलेसले कुनै राजा, महाराजाले पठाएको भन्ने अर्थमा नभइ सामाजिक रुपान्तरणका लागि आफैंले आफूलाई पठाएको सन्देशसहित देउसी–भैलो कार्यक्रम गर्दै आएको छ ।

प्रलेसको देउसी–भैलो सामग्रीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, महानन्द सापकोटा आदि अग्रज स्रष्टाका कतिपय छानिएका रचनांश पनि प्रस्तुत गरिएका छन् ।

महाकवि देवकोटाको

‘गरीब भन्छौं सुखको मझैं धनी

मिल्दैन संसारभरि कतै पनि

विलासको लालस दास छैन म

मीठो छ मेरो रसिलो परिश्रम’

लाई छन्दकवि रमेश शुभेच्छुलगायत टोलीले सस्वर सुनाएको थियो भने यो अर्काे कवितांशले पनि मुलुक निर्माणका कठिन कामहरु पनि दत्तचित्त भएर लागेमा सम्भव हुने सन्देश दिएको छ :

‘फोर्दै जाऊ गिरी र पहरा झार साना गिटीमा

कुँद्दै जाऊ अलिअलि गरी  शेष हून् शालिग्राम

गाल्दै जाऊ खनिज गतिला धातु छानेर गाल

खोस्री खोस्री जमीन तह यो विश्वको सिर्ज टार ।’

प्रलेसका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी, पूर्वमन्त्री शान्ता मानवी, उपाध्यक्ष सुशीला प्रधानाङ्ग, उपमहासचिव आरसी न्यौपाने सम्मिलित टोलीले शनिबार बिहानै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको गैरीधारास्थित निवासबाट साहित्यिक देउसी–भैलोको थालनी गरेको थियो ।

कुलपति उप्रेतीले संस्कृतिलाई समयसापेक्ष रुपान्तरणसहित प्रलेसले साहित्यिक देउसी–भैलो आरम्भ गरेकामा खुसी व्यक्त गर्दै भने–‘संस्कृतिभित्र रहेका रुढी परम्परालाई हटाउँदै नयाँ सन्दर्भमा समाज र संस्कृतिका हरेक चिजलाई प्रगतिशील रुपन्तरण र वैज्ञानिक बनाउँदै जानेक्रममा प्रलेसको प्रयास सामयिक देखिन्छ ।’

प्रलेका अध्यक्ष डा. गिरीले साहित्यिक भेटघाट, सांस्कृतिक रुपान्तरणको जागरण र संस्थाको काम सन्चालनका लागि अर्थाेपार्जनको उद्देश्य लिएर अभियानकैरुपमा देउसी–भैलो कार्यक्रम गरिएको जानकारी दिए ।

प्रलेस टोलीको आशिष पनि काव्यात्मक नै रहेको छ :

‘उचो तेजी माथा चरण चरणै झुक्नु नपरोस्

खुला सङ्लो भैयोस् डर धक लिई लुक्नु नपरोस्

कुनै पीडा चिन्ता मनमन लिई दुख्नु नपरोस्

गरी बर्खे हल्ला शरद नपुगी सुक्नु नपरोस् ।’