
काठमाडौं, कात्तिक ७ । पहिलो संस्करणको ‘फ्रेन्चाइज’ महिला ट्वेन्टी–२० वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटको उपाधि चितवन राइनोज्ले जितेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।
सुमन खतिवडाले सर्वाधिक २९ रन बनाएको इनिङ्समा कप्तान इन्दु वर्माले १९ बलमा अविजित रहँदै २२ रन जोडिन् ।
जवाफमा काठमाडौंले २० ओभरमा ‘अलआउट’ हुँदै ६७ रनमात्र बनाउन सक्यो ।
अप्सरी बेगमले सर्वाधिक १५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा चितवनकी ‘अलराउन्डर’ सुमनले ११ रन खर्चेर ३ तथा रितु कनौजियाले ७ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावलले २ विकेट झारिन् ।
चितवनले काठमाडौंलाई लिग चरणमा ५ विकेटले हराएको थियो ।
अपराजित रहँदै उपाधि जितेको चितवनले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले तीन लाख रुपैयाँमा चित्त बुझायो ।
उत्कृष्ट
काठमाडौंकी कप्तान रुबिना क्षेत्री ‘प्लेयर अफ द सिरिज’ बन्न सफल भइन् । रुबिनाले ६ खेलमा दुई अर्धशतकसहित २१४ रन बनाउनुका साथै ५ विकेट लिइन् । उनले टीभीएसको एउटा स्कुटर र ५० हजार रुपैयाँ पाइन् ।
चितवनकी काजल श्रेष्ठ उत्कृष्ट ब्याटर र चितवनकै कविता गौतम उत्कृष्ट बलर घोषित भइन् । उनीहरुले जनही २५ हजार रुपैयाँ पाए ।
काजलले ४ खेलमा १३४ रन बनाएकी थिइन् । कविताले ५ खेलमा १० विकेट लिएकी थिइन् ।
त्यस्तै, काठमाडौंकी तीव्रगतिकी बलर ईश्वरी विष्टले उदयमान खेलाडी घोषित हुँदै ट्रफी र प्रमाणपत्र पाइन् ।
पाँच टोलीले सहभागिता जनाएको प्रतियोगितामा विराटनगर टाइटान्स तेस्रो, पोखरा पल्टन चौथो तथा ललितपुर फाल्कोन्स पुछारमा रह्यो ।
प्रतिक्रिया दिनुहोस्