२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउने क्रिकेट रंगशालाको ‘डीपीआर’ तयार


0
Shares

चितवन, कात्तिक ६ । चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ‘डीपीआर’ तयार भएको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) क्रियटिभ डिजाइन आर्किटेक प्रालिको नेतृत्वमा भारतीय र अमेरिकी ‘कन्सल्टेन्सी’को सहयोगमा तयार गरिएको हो ।

उक्त डीपीआर बुधबार भरतपुर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रस्तुत गरियो ।

तोकिएको समयभन्दा झन्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ ।

करिब तीन अर्ब रुपैयाँ लागतमा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न लागिएको रंगशाला ३० हजारजना दर्शक क्षमताको हुने जनाइएको छ ।

रंगशालामा दुई भीआइपी प्यारापिटसमेत रहनेछन् ।

क्रिकेट रंगशालासँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्डहल पनि निर्माण गर्न डीपीआर तयार भएको फाउन्डेसनले जनाएको छ ।

तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने योजना रहेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए ।