२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयानः ‘कुकुरबाट बलात्कार गराइयो’


0
Shares

काठमाडौं । ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ बेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर, मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’

हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतरी’ ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती ।

गोपनियता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो ।

आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो, सुन्नेहरुका आँखा रसाउँदै गए ।

बर्दियामा जन्मेकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालिन विद्रोही माओवादीमा लागेकी थिइन् ।

नाचगान गर्दै, जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीकासाथ गाउँगाउँमा हिँडिन् । त्यही क्रममा २०५८ मंसिरको एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।

‘सैनिकहरुले हामीलाई घरबाट लछार्दै निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए,’ ती युवतीले भनिन् । त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध भयो ।

‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्, ‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’ कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन् ।

उनले सैनिकहरुबाट आफूमाथि अरु पनि धेरै पासविक व्यवहार भएको सुनाइन्। सेनाको कुटपिट र बलात्कारको कारण कपडामै दिसा चुहिएको उनले सुनाइन् ।

विज्ञहरुले ती युवतीमाथि कुकुरद्वारा बलात्कार गराइएको भन्ने बयान सही हो भने यसले सशस्त्र द्वन्द्वकालमा भएको यातनाको नयाँ ढाँचालाई उजागर गरेको टिप्पणी गरेका छन् ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पीडित युवतीले भनेअनुसारको घटना भएको हो भने छानविन गर्न सेना तयार रहेको बताएका छन् । उनले सेना यस्ता घटनाको विरुद्धमा रहेको बताए ।

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार तालिम नलिई जनावरले मान्छेमाथि बलात्कार गर्दैन । यस घटनाले सेनाभित्र बलात्कारका लागि कुकुरहरु तालिम प्राप्त थिए भन्ने संकेत गर्छ । -कान्तिपुर दैनिकबाट