
काठमाडौं, कात्तिक ४ । पोखरा पल्टनले सान्त्वना जित हासिल गर्दै राजधानीमा जारी महिला ‘डब्लुसीएल’ ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता सकाएको छ ।
लिग चरणको अन्तिम खेलमा सोमबार ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गर्दै पोखराले सान्त्वना जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।
ममता चौधरीले अविजित ५२ तथा कविता जोशीले ३१ रन बनाएको इनिङ्समा पोखराकी सीता रानामगरले सर्वाधिक २ विकेट लिइन् ।
जवाफमा पोखराले १७ ओभर २ बलमा ४ विकेटको क्षतिमा जित हासिल गर्यो ।
‘प्लेयर अफ दी म्याच’ कविता कुँवरले ४२ बलमा अविजित ६१ तथा विन्दु रावलले ४० रन बनाइन् ।
पाँच टोली सहभागी पहिलो महिला ‘फ्रेन्चाइज’ लिगमा अंकविहीन हुँदै ललितपुरले लिग सकाएको छ ।
काठमाडौं र विराटनगरबीच ‘प्लेअफ’
मंगलबार फाइनल प्रवेशका लागि ६ अंक जोड्दै दोस्रो स्थानमा रहेर लिग सकाएको क्याट् क्वीन्स काठमाडौं र ४ अंक जोड्दै तेस्रो स्थानमा रहेर लिग सकाएको विराटनगर टाइटान्सबीचको ‘प्लेअफ’ खेल हुँदैछ । विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।
विजेताले उपाधिका लागि फाइनलमा चितवन राइनोज्सित बिहीबार खेल्नेछ ।
चितवन लिग चरणका सबै चार खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको हो ।
प्रतिक्रिया दिनुहोस्