
काठमाडौं, कात्तिक ३ । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जना आइतबार पक्राउ परेका छन् ।
आइतबार अपराह्न कपनस्थित नीलोपुलनजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्नेक्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक, बाह्रबिसे घर भइ काठमाडौं, कपन बस्ने ४१ वर्षका मंगले तामाङ, सोही ठाउँ बस्ने २६ वर्षका सुजन रसौली, विष्णुबहादुर राउत, नवराज राउत र रोशन बुढामगर तथा सोही ठाउँ घर भइ हाल ललितपुर, सानागाँउ बस्ने २३ वर्षीय किरण लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
उपभोक्ताले सुन खरिद गर्न तयार गरेको रु पाँच लाखसहित सुन लिन मोलतोल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए ।
उनीहरुका साथबाट एक किलो नक्कली सुन र ६ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्