Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


निदान अस्पतालमा मिर्गौला किनबेचकान्डः आरोपीविरुद्ध पाँच दिनको म्याद थप


0
Shares

काठमाडौं, असोज ३० । मिर्गौला किनबेच आरोपमा पक्राउ परेका ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीइओ)सहित पाँचजनालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

बिहीबार जिल्ला अदालत ललितपुरले घटना अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।

उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ललितपुरका प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए ।

निदान अस्पतालको मिर्गौला प्रत्यारोपण स्वीकृति समितिले गएको साउन २४ गते रामेछापका शंकरलाल लामाको मिर्गौला प्रत्यारोपण गरिएकामा नक्कली कागज बनाइ प्रत्यारोपण गरेको पाइएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई अस्पताल परिसरबाटै बुधबार पक्रेको थियो ।

शंकरलालका भान्जा भनी ३७ वर्षीय एक व्यक्तिको नाममा कागजात बनाइएकामा मिर्गौला प्रत्यारोपण गर्ने समयमा अर्कै व्यक्ति खडा गरी मिर्गौला झिकेर प्रत्यारोपण गरेको पाइएको प्रहरी उपरीक्षक जबराले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधान, अस्पतालका कानुनी अधिकृत कुमुदकुमार भट्टराई, अस्पतालका चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला ग्रहण गर्ने रामेछाप, दोरम्बाका शंकरलाल लामा रहेका छन् ।

मिर्गौला दिने व्यक्ति आफैंले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।