रोमन आचार्य
काठमाडौं । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न नसकेका पार्टीहरूले प्रदेशहरूमा भने नयाँ सत्ता समीकरण बनाउन थालेका छन् ।
गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्वको अविश्वासको प्रस्तावमा जसपाले समेत साथ दिएसँगै केन्द्रमा पनि तीन दलको मोर्चाबन्दी कस्न कांग्रेस र माओवादी केन्द्र लागि परेका छन् । तर, जसपाभित्र महन्थ ठाकुर र राजेन्द्र महतोको समूहलाई साथमा नलिएसम्म केन्द्रीय मोर्चावन्दी सम्भव छैन ।
राजनीतिक अनुकुलता मिले अब गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल बन्ने सम्भावना बढेको छ । कांग्रेसको नेतृत्वमा तीन दल मिलेर बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै त्यसमा जनमोर्चाले पनि साथ दिने भएको छ ।
२०७४ सालमा सम्पन्न प्रदेश र केन्द्रीय निर्वाचनमा नमज्जाले पराजय भोगेर प्रतिपक्षीमा थन्किएको कांग्रेसलाई पुनः गुमेको शक्ति आर्जन गर्ने मौका मिलेको छ । केन्द्रमा ओलीलाई हटाउने अभिलाषा पूरा गर्न संघर्ष गरिरहेको कांग्रेसले त्यसको छनक गण्डकी प्रदेशबाट दिन थालेको हो ।
तहसनह हुनेगरी कम्युनिष्ट पार्टीमा गएको पहिरोको लाभ कांग्रेसलाई मिलेको हो । तर, ६१ सिटे कांग्रेसलाई केन्द्रमा ओलीको कुर्सी खोस्न सहज छैन । ४९ सिटमा खुम्चिएको माओवादी केन्द्रले मात्र साथ दिएर पुग्दैन । ३२ सांसद भएको जसपाले हात बढाए मात्र नयाँ सत्तासमीरकण बन्छ ।
प्रदेशमा जस्तै जसपाको पूर्व समाजवादी खेमाले मात्र साथ दिएर पुग्दैन । किनभने, आफूहरूसँग बहुमत सांसद भएको दाबी जसपाभित्र राजपा खेमाको छ । प्रदेशमा जसपाको समाजवादी खेमा निर्णायक जस्तो देखिए पनि केन्द्रमा प्रधानमन्त्रीको कुर्सीमा ओलीलाई टिकाउन राजपा खेमा प¥याप्त छ ।
ओली नेतृत्वको सरकारको आयु बढाउन जसपाभित्रको वैचारिक ध्रुवीकरण एउटा कारक तत्व हो । परिस्थिति बुझेरै ओलीले जसपाले उठाएको मागमध्ये थुनामा रहेका सांसद रेशम चौधरीलाई छुटाउने प्रयास थाल्नुभएको छ । माओवादी केन्द्र ओलीलाई केन्द्रदेखि स्थानीय तहसम्मै कमजोर बनाउन राजनीतिक त्याग गर्न तयार छ ।
प्रदेश सरकारमा आफूलाई लाभ हुने गरी समीकरण बदल्ने परिस्थिति निर्माण गरे पनि केन्द्रीय अंकगणित मिलाउन कांग्रेसलाई सहज छैन । गण्डकी प्रदेशमा एकाएक बनेको गठबन्धनले केन्द्रीय राजनीतिमा तरङ्ग त उत्पन्न ग¥यो । तर, केन्द्रमा जसपाभित्रको राजपा खेमाले साथ नदिएसम्म परिस्थिति सहज छैन ।









प्रतिक्रिया दिनुहोस्