
काठमाडौं, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण उपलब्धिमूलक हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको हितमा हुने विश्वास व्यक्त गरे ।
चिनियाँ लगानी नेपालमा भित्र्याउने र चीनसँगको सडक सञ्जाल विस्तारका विषयमा पनि छलफल हुने भन्दै उनले केरुङ–काठमाडौं जोड्ने रेलका विषयमा समझदारी हुने सम्भावना रहेको बताए ।
अनुदानमात्र स्वीकार गर्नुपर्छ : डा. महत
नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीनसँग ऋण लिएर लगानी गर्नु नेपालका लागि प्रत्युत्पादक हुने भएकाले अनुदानमात्र स्वीकार गर्नुपर्ने बताए ।
उनले चिनियाँ राष्ट्रपतिको भ्रमणकाक्रममा व्यापार, पूर्वाधार र दीर्घकालीन विकासका योजनाका विषयमा छलफल गर्नुपर्ने बताए ।
उनले टोखा–छहरे सुरुङमार्ग बन्ने हो भने चीनसँगको व्यापार सहज हुने उल्लेख गरे ।
केरुङ–काठमाडौं जोड्ने रेल चिनियाँ अनुदान भएमात्र स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।
चिनियाँ राष्ट्रपति सी आउँदो शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदैछन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्