Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान अपिल गरेको छ । हालसम्म सेवा बन्द गर्ने विषयमा सरकारले औपचारिक निर्णय नगरेको भए पनि स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढेकाले विद्यालय नजान सचेत गराएको हो ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई तथा आपत्कालीन सञ्चालन केन्द्रले बिहिबार विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नु पर्नेतर्फ सचेत गराएको हो ।

ती जिल्लाहरूमा विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, पूजाआजा तथा जात्राहरू, सभा सम्मेलन नगर्न तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुलहरूमा सहभागी नहुन अपिल गरेको हो । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लाको हकमा यस्तो अपिल जारी गरिएको हो ।

यस्तै मन्त्रालयले सरकारी अस्पतालहरूलाई कम्तिमा ५० प्रतिशत शय्या कोभिड–१९ का लागि छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न पनि निर्देशन दिएको छ । सबै अस्पतालहरूलाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न अनुरोध समेत गरिएको छ ।

बालबालिका, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूको कोभिड–१९ परीक्षण तथा उपचारलाई प्राथमिकता दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

Skip This