२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घर–घरमा भित्र्याइयो फूलपाती


0
Shares

काठमाडौं, असोज १८ । आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत् आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीककारुपमा नौथरि फूल भित्र्याइयो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीककारुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो ।

नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती ९ देवीको प्रतीककारुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तीका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुन्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि ९ ओटै देवीको विधिपूर्वक पूजा–आराधना गरिन्छ ।

फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा. डा. गौतमले राससलाई जानकारी दिए ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरुको महान् चाड दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादकारुपमा टीका थाप्न आ–आफ्नो घर फर्कनेक्रम अझ तीव्र भएको छ ।

फलस्वरुप, नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिंगेपिङ र रोटेपिङले दसैंको रौनकतालाई अझ बढाउने गर्दछ ।

दसैं मनाउन राजधानीमा विभिन्न पेसा र व्यवसायमा संलग्न भइ बस्दै आएका धेरै मानिस आफ्नो थातथलो फर्किएका छन् ।

उपत्यका सुनसान देखिन थालेको छ । सडकमा कमै सवारी गुडेका छन् । कतै जान निस्किएका यात्रीले सवारी नपाएको भनी गुनासो गरेका छन् । रासस