२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


राजा महेन्द्रले शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक


0
Shares

ललितपुर । सातदोबाटोदेखि मकवानपुरको हेटौँडा जोड्ने कान्ति लोकपथ निर्माण थालिएको ६४ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । आयोजना निर्माणमा अहिलेसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन । 

सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो । यो काम ०१६ मा सकियो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि जिपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ । तर, त्यसयता सडकको स्तरोन्नतिको काम कछुवा गतिमा समेत हुन सकेन । 

६४ वर्षमा आयोजनाका नाममा राज्यको ठूलो धनराशि खर्च भएको छ । तर, त्यसको विवरण पनि सरकारसँग छैन । काठमाडौंस्थित कान्ति लोकपथ सडक आयोजनाका अनुसार आर्थिक वर्ष ०७०/७१ यता मात्रै दुई अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ । त्यसअघि भएको खर्चको विवरण न आयोजनासँग छ, न सडक विभागसँग नै । ‘ट्र्याक खन्ने काम ०१६ मै सकिएको देखिन्छ । तर, सडक निर्माणको काम अझै हुन सकेको छैन । आयोजनामा पछिल्लो समय भएको खर्च विवरण त होला, तर पहिला कति भयो त्यसको हिसाब नै छैन,’ आयोजना कार्यालयका पूर्वप्रमुख कपिलविष्णु काफ्लेले भने । 

यो आयोजना पछिल्लो १३ वर्षदेखि कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयअन्तर्गत निर्माण हुँदै आएको थियो । तर, त्यतिवेला निर्माण कार्यले गति लिन सकेन । 

लोकपथको कुल लम्बाइ ९० किमि थियो । सडकको चौडाइ सुरुमा ५.५ मिटर तय भएको थियो । तर, पछि ८.५ मिटर निर्धारण गरिएको छ । लोकपथको ५१ किमि भाग मकवानपुरमा र बाँकी ३९ किमि खण्ड ललितपुरमा पर्छ । मकवानपुरको चौघडा–चुनडाँडा–मकवानपुरगढी–जितपुर–ठिंगना–बागमती हुँदै लोकपथ ललितपुरको बगुवा–कल्चेभिर–छपेली–झाँक्रीडाँडा–तिनपाने भञ्ज्याङ–टीकाभैरव हुँदै सातदोबाटोमा जोडिन्छ ।

अहिलेसम्म आयोजनाको ८० प्रतिशत मात्रै भौतिक प्रगति छ । १५ किलोमिटरबाहेकको खण्ड कालोपत्रे गरिएको छ । चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने आयोजनाले जनाएको छ । तर, लामो समयदेखि आयोजनाले पटक–पटक म्याद सार्दै आएको छ । 

निर्माण भएको सडकका विभिन्न खण्ड पनि बर्खाको बाढीपहिरोले क्षतविक्षत हुने गरेका छन् । कहीँ सडक धस्सिएको छ भने कतै पहिरोले बगाएको छ । कुनै ठाउँ पहिरोका कारण सडक पुरिएको छ । तर, सार्वजनिक यातायातका साधन चलेका छैनन् । 

आयोजनाका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्छ । सडक विभागले टेन्डर निकाल्छ । तर, डोजर लिएर ठेकेदारले उही ढिस्कोलाई कहिले यता पन्छाउँछन् त कहिले उता । दशकौँदेखि चल्दै आएको यो प्रक्रियाले सीमित ठेकेदारको मुहारमा त पटक–पटक कान्ति ल्याएको छ । तर, सडकको अवस्था जस्ताको तस्तै छ । 

कान्ति लोकपथ निर्माण भए हेटौँडा–काठमाडौं दूरी एक सय ३२ किमि छोटिन्छ । अहिले मुख्यतया सञ्चालनमा रहेको हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा सडकको लम्बाइ दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भए ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवैको बचत हुन्छ । 

सरकारको प्राथमिकतामा परेको भए कान्ति लोकपथलाई नै ‘फास्ट ट्र्याक’का रूपमा विकास गर्न सकिने अवस्था पनि थियो । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढ जोड्नुपर्ने हुन्थ्यो । ललितपुरको सातदोबाटोदेखि निजगढसम्म यो रुटको दूरी ८० किमि मात्रै हुन्छ । तर, ६४ वर्ष पुरानो लोकपथलाई उपेक्षा गरेर सरकारले फास्ट ट्र्याकमा मात्र अन्धाधुन्ध पैसा खन्याइरहेको छ । ९० किलोमिटर लामो कान्ति लोकपथको समानान्तर ७२.५ किलोमिटर फास्ट ट्र्याक निर्माण भइरहेको छ । तर, कुनै पनि सडकको निर्माण फास्ट ट्र्याकमा छैन । 

राज्यले नै प्राथमिकतामा नराखेका कारण राजा महेन्द्रले ६ दशकअघि नै जिप कुदाएको कान्ति लोकपथमा अहिले दूध बोक्ने एक–दुईवटा ट्रक र फाट्टफुट्ट मिनिबस मात्रै चलेको देखिन्छ । सरकारको प्राथमिकतामै नपरेर आयोजनाको यस्तो दुर्गति भएको आयोजनाका पूर्वप्रमुख काफ्लेको भनाइ छ । नयाँ पत्रिका