२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् ।

निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्छ ।

कानुन सबैका लागि समान भएको बताउँदै उनले अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिए ।

अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।

नेता सिंहले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने ? महिलालाई दुर्व्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता/कार्यकर्ता हुने ? यो हुनै सक्दैन ।’

एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए ।

तर महराको राजीनामा ‘म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर’ भनेजसरी आएको सिंहले टिप्पणी गरे ।

उनले प्रश्न गरे, ‘संविधानको कुनचाहिँ धाराअनुसार राजीनामा गर्नुभयो ? जनतालाई भ्रममा पार्न त भएन नि ।’ उनले महरा सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हट्नुपर्ने बताए । 

नेता सिंहले अत्यधिक मूल्यवृद्धि, भ्रष्टाचार, मेलम्ची खानेपानी आयोजना प्रकरणलगायतले सरकार असफल भएको पुष्टि भइसकेको पनि बताए ।