
काठमाडौं, असोज ९ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको टी–ट्वेन्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का २७औं स्थानमा छन् ।
आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७औं स्थानमा यथावत् रहेका हुन् । कप्तान खड्काले ९० रेटिङ अंक पाएका छन् । उनी दुई महिनाअघि २५औं स्थानमा थिए ।
त्यस्तै, ब्याटिङतर्फ भने कप्तान खड्का ६६औं स्थानमा छन् ।
बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३औं स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८औं स्थानमा झरेका छन् ।
त्यस्तै, अलराउन्डरतर्फ कामी ६७औं स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अंक पाएका छन् ।
आइसीसीको टोलीमा टी–२० वरीयतामा नेपाल ११औं स्थानमा यथावत् रहेको छ भने एकदिवसीय वरीयतामा नेपाल १७औं स्थानमा रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्