Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


भागरथी बलात्कार तथा हत्यामा नयाँ ‘ट्विस्ट’, वडा कार्यलयका कर्मचारीमाथि दिनेशले लगाए आरोप


0
Shares

काठमाडौं । किशोरी बलात्कारपछि हत्या गरेको आरोपमा पुर्पक्षका लागि अदालतले सुधारगृह पठाएका दोगाडेदार गाउँपालिका ७ चडेपानीका दिनेश भट्टले आफूले अपराध नगरेको बताएका छन् ।

दिनेशमाथि दोगाडेदार गाउँपालिका ७ कै १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोप लागेको छ ।

गत फागुन २५ मा जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि दिनेशलाई डोटीस्थित बाल सुधारगृह पठाउन आदेश दिएको थियो ।

दिनेशले यसअघि अपराध स्वीकार गर्नुका साथै विभिन्न तथ्य प्रमाणका आधारमा उसलाई सुधारगृह पठाइएको हो ।

सुधार गृह भेट्न गएका बुबा दीपकराज भट्टसँग दिनेश आफूले अपराध नगरेको बताएका छन् ।

‘यसअघि फोन गरेर पनि मैले गरेको होइन भन्छ, भेट्दाखेरि पनि दिनेश आफूले अपराध नगरेको भनेको छ’, दीपकराजले भन्नुभयो, ‘विद्यालयबाट फर्किरहेको बेला घटना भइरहेको आफूले देखेको र कसैलाई भन्यो भने बुबा र घरपरिवारलाई मारिदिने धम्की उनीहरुले दिएको दिनेशले मसँग भन्यो ।’

उहाँले थप्नुभयो, ‘दुई जना थिए भन्छ, एक जनालाई मात्रै चिनेको छु भनेको छ, चिनेका ती व्यक्ति वडा कार्यालयका कर्मचारी रहेका छन् ।’

‘अर्को चिन्न नसकेको मान्छेले दार्ही पालेको, मास्क लगाएको र चक्कु देखाउँदै कसैलाई यो कुरा भन्यो भने तिमीलाई पनि मार्छौ भनेर दिनेशलाई भनेको, अनि मोटरसाइकलमा खोचलेतिर फर्किएका रहेछन्’, उहाँले भन्नुभयो ।

शनिबार डोटी पुगेर आफूले दिनेशलाई भेटेको दीपकरजले बताउनुभयो । दिनेशले कर्मचारीको नामै किटान गरेर भनेकाले आफूहरु पनि असुरक्षित रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, अब नाम किटान गरेको मान्छेले हामीमाथि केही गर्छ भन्ने डर लागेको छ, म र मेरो परिवारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ, हामी असुरक्षित भयौं अब ।

दिनेशलाई प्रहरीले फागुन ५ गते सार्वजनिक गरेको थियो । सार्वजनिक गरेपश्चात दिनेशले बुबा दीपकराजलाई समेत राखेर सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले आफूले नै बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए ।

यसभन्दा अगाडि किन यो कुरा नभनेको भन्ने प्रश्नमा दिनेशले आफूलाई चक्कु देखएर मार्ने धम्की दिएको र घरपरिवार पनि सिध्याउने धम्की उनीहरुले दिएको दीपकराजले बताउनुभयो । समाचारपत्र