
काठमाडौं । सत्तारुढ एमाले फुटको सम्मुख पुगेको छ । वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले ‘गुटगत भेला’ गरे कारबाहीको डण्डा चलाउने चेतावनी दिएको छ ।
अध्यक्ष ओली पक्ष २८ फागुनमा गरिएको केन्द्रीय सदस्यहरूको मनोनयन, नेताहरूको जिम्मेवारी हेरफेर, विधान संशोधनलगायत निर्णयबाट पछि नहट्ने मनस्थितिमा छ । तर, नेपाल–खनाल पक्षले पार्टी विधानविपरीत निर्णय गरिएको भन्दै खारेज गर्नुपर्ने अडान राखेको छ । राष्ट्रिय भेला नरोक्ने र ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने बरु समानान्तर कमिटीको अभ्यास गर्ने यो समूहको तयारी छ ।
बालुवाटार र सानेपामा मंगलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा पनि दुवै पक्षले अडानमा कायम रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको चियापान कार्यक्रमबाट भेला नरोकिए कारबाही गर्ने चेतावनी दिएलगत्तै अर्को पक्षले प्रतिवाद गरेको छ । भेलाको तयारीबारे जानकारी दिन नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू कारबाही भोग्न तयार रहेको, तर गलत कदमको मूकदर्शक भएर बस्न नसक्ने र भेला भव्य रूपमा सम्पन्न गर्ने बताए ।
‘भोलि भेला आह्वान गरेको छ रे ! नेकपा एमालेसँग आबद्ध, सम्बद्ध कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्न र नगराउन, त्यस्ता भेलामा सरिक नहुन, नजान, सहभागी नहुन म सम्पूर्णलाई सजग र सचेत गराउन चाहन्छु,’ मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यस पार्टीमा अबउप्रान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलताजस्ता कुराहरू, विधिविधानविपरीतका कामकारबाही, पार्टीका एकताविरोधी क्रियाकलापलाई छुट हुँदैन । त्यस्ता कुराहरू मान्य हुन सक्दैन । त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन पनि सक्दैनौँ ।’ ओलीले बोलाएको चियापान कार्यक्रम नेपाल–खनाल पक्षले भने बहिष्कार गरेको छ ।
पार्टीभित्र केही मानिसले छुट्टै भेला र बैठक गरेर निहुँ खोजिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘पार्टी ०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ चैतमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू राष्ट्रिय भेला गर्ने, भेला बोलाउने, भेलाबाट प्रतिवेदन पास गर्ने रे ! समानान्तर कमिटी बनाउने रे !’ उनले भने, ‘समानान्तर होइन, अर्काे कमिटी बन्ला । कसैले अर्काे पार्टी बनाउँछ कि, कमिटी बनाउँछ त्यसमा के गर्न सकिन्छ र ?’
नेपाल–खनाल समूहका नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ओलीको भनाइलाई ‘अहंकारपूर्ण अभिव्यक्ति’ भन्दै आफूहरू कारबाही भोग्न तयार रहेको बताए । ‘कारबाहीले मुलुक र राजनीति अगाडि बढ्दैन, पार्टी अगाडि बढ्दैन । प्रधानमन्त्रीजीको यो अहंकारपूर्ण अभिव्यक्ति हो,’ उनले भने, ‘हामीलाई कुनै दुःख छैन । हामी एकपछि अर्को कारबाहीका निम्ति तयार छौँ, लामबद्ध छौँ । त्यसका लागि हामीलाई कुनै पश्चात्ताप हुनेछैन । किनभने हामी मुलुक, संविधान र प्राप्त जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौँ । हामीलाई त्यसमा कुनै हीनताबोध छैन ।’नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्