Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पार्टीको नाम फेर्न प्रचण्डको गृहकार्य


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम परिवर्तन गर्ने मनस्थिति बनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल निर्वाचन आयोगमा पहिला नै दर्ता रहेको भन्दै आइतबार सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि पार्टीको नाम परिवर्तन गर्न प्रचण्डलाई अन्य नेताले पनि सुझाब दिएका छन् । 

बुधबार सम्पन्न स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको, तर औपचारिक निर्णय नभएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । ‘स्थायी कमिटीमा नाम फेर्नेबारे छलफल भएको छ । पार्टी अध्यक्ष प्रचण्ड नाम फेर्ने विषयमा तयार हुनुभएको छ । तर, कमिटीमा औपचारिक निर्णय भएको छैन,’ शर्माले भने । 

नेता नारायणकाजी श्रेष्ठले नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको बताए । नेता श्रेष्ठले भने, ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका छौँ ।’ 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार र बुधबार बसेको थियो । बैठकले संगठन निर्माणको योजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्यहरू जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र वर्षमान पुन छन् । बिहीबार कार्यदलको बैठक बसे पनि यस विषयमा छलफल नभएको नेता शर्माले बताए ।

२३ फागुनमा अदालतको फैसलापछि निर्वाचन आयोगले दुवै पार्टी पूर्ववत् रूपमा ब्युँतिएको र पार्टी एकता गर्ने भए १५ दिनभित्र प्रक्रिया पु¥याएर आवेदन दिन पत्राचार गरेलगत्तै माओवादी केन्द्रमा पार्टीको नाम परिवर्तनले प्रवेश पाएको हो । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि उपयुक्त पुच्छर झुन्ड्याएर हेरफेर गर्न सकिने प्रचण्डलाई नेताहरूको सुझाब छ । 

पेरिसडाँडामा झुन्डाइएको नेकपाको साइनबोर्डको निकाल्ने प्रसंगमा स्थायी कमिटी बैठकमा नेता शर्माले ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गरेर नेकपालाई नै निरन्तरता दिने प्रस्ताव गरेका थिए । ‘नेकपाको साइनबोर्ड छ । अब ऋषि कट्टेललाई पार्टीमा ल्याउँ र नेकपालाई निरन्तरा दिउँ, त्यही नाम र्नै सजिलो होला,’ शर्माको प्रस्ताव थियो । लगत्तै प्रचण्डले विभिन्न व्यक्तिले पार्टीको नाम फेर्न सुझाब दिएको र त्यसमा आफू सकारात्मक रहेको सुनाएका थिए । नयाँ पत्रिका