काठमाडौं, साउन ७ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले डा. गोविन्द केसीले अनशन बस्नुपर्ने मुद्दा नै नरहेको जिकिर गरेका छन् ।
पुष्पलालको ४०औं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा नेकपा सचिवालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा आयोग बनाइदिन्छु भन्दै त्यसको नेतृत्व गर्न डा. केसीलाई आग्रह गरे ।
डा. केसीले मानवअधिकारका नाममा आफैंलाई दुःख दिएको भन्दै उनले डाक्टरहरुले बिरामीलाई उपचार सेवाबाट बन्चित गर्नु पनि निन्दनीय भएको बताए ।
सम्बोधनकाक्रममा प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति निकै आक्रामक देखिएका प्रधानमन्त्री ओलीले एजेन्डाविहीन बनेको कांग्रेसले एकजना व्यक्तिको मुद्दा बोकेर सडकमा उत्रेको र देशलाई हिंसातर्फ धकेल्ने बहाना खोजेको आरोप लगाए ।
लाशको राजनीति गर्न चाहेको आरोप
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले डा. केसीको अनशनलाई नेपाली जनताले पचाइसकेको भन्दै होच्याउने प्रयास गरे ।
तर, शान्ति–प्रक्रिया पार गरी आएको सरकार गोविन्द केसीको जीवनरक्षाका लागि लचिलो हुन तयार रहेको भन्दै अध्यक्ष दाहालले ‘छलफल भने जरुरी छ’–भने ।
कांग्रेस डा. केसीको जीवनरक्षाप्रति गम्भीर नभइ उनको हत्या गरी लाशको राजनीति गर्न चाहेको आरोप उनले लगाए ।
सरकारविरोधी शक्तिहरु सरकारलाई बदनाम गर्न नियोजित ढंगले लागिपरे पनि आफूहरु दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्ने दाहालको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्