Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बहुमत केन्द्रीय सदस्यको नागरिकता सहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी


0
Shares

Madhab prachand

काठमाडौं । आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो । तर, दुई महिना बित्दा पनि कानुनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । 

त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । एक केन्द्रीय सदस्यका अनुसार सबै केन्द्रीय सदस्यलाई दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा पुग्न भनिएको छ । उनका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर १ बजे निर्वाचन आयोग जाने योजना छ । प्रचण्ड–नेपाल समूहले आयोग सरकारको दबाबमा परेर निर्णय लिन हिच्किचाएको बताएको छ । 

यसअघि २० माघमा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी आधिकारिकताको दाबी गर्दै बुझाएको निवेदनमा निर्वाचन आयोगले कुनै प्रक्रिया अघि नबढाएको भन्दै प्रचण्ड–माधव समूह शुक्रबार निर्वाचन आयोग जान थालेको हो । ‘कानुनी रूपमा बुझाएको निवेदनलाई बेवास्ता गरिरहेको आयोगसमक्ष नागरिकतासहित सशरीर उपस्थित भएर हामी जिउँदै छौँ भनेर भन्नुपर्ने भयो,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘राजनीतिक रूपमा विभाजित भयौँ, हामी बहुमत केन्द्रीय सदस्य एकातिर छौँ, विधिसम्मत तवरले बोलाइएको बैठककै निरन्तरतामा केन्द्रीय समिति बसेर विवरण पठाएका छौँ, अद्यावधिक गरिदिनुपर्‍यो, आधिकारिक रूपमा पार्टी हाम्रो हो भन्दा सुनुवाइ नै भएन । अब हामी जिउँदै छौँ भनेर नागरिकतासहित उपस्थित हुनुपर्ने अवस्था आयो ।’ 

उनले आवश्यक सबै कागजात बुझाइसक्दा पनि कुनै सुनुवाइ नगरी अर्को पक्षले दिएको निर्देशन खुरुखुरु पालना गर्नुले आयोगको निष्पक्षतामाथि समेत आशंका बढेको बताए । ‘निर्वाचन आयोग संवैधानिक निकाय हो । सरकारले कमजोरी गरे पनि स्वविवेक प्रयोग गरेर त्यसलाई सन्तुलित बनाउने दायित्व ऊसँग हुन्छ,’ उनले भने, ‘यहाँ त आयोगले नै निर्वाचन हुन्छ भनेर पटक–पटक दोहो¥याउने काम गरिरहेको छ । निर्वाचनका लागि टुंग्याउनुपर्ने विवादमा भने चासो नै छैन ।’नयाँ पत्रिका