३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


यमनमा विद्रोहीविरुद्ध भीषण हमला, चार सेना र २२ जना विद्रोहीको मृत्यु


0
Shares

काठमाडौं, जेठ ३१ । साउदी अरब र युनाइटेड अरब इमिरेट्स नेतृत्वको गठबन्धन सेनाले यमनको बन्दरगाह शहर हुदाइदाहमा भीषण हमला गरेका छन् ।

हुथी विद्रोहीलाई लक्षित गर्दै गठबन्धन सेनाले हमला गरेको हो । हमलामा गठबन्धन सेनाका चार जना र हुथी विद्रोहीका २२ जनाको मृत्यु भएको छ ।

साउदी नेतृत्वको गठबन्धन र इरानसमर्थित हुथी विद्रोहीबीचको यो युद्ध तीनवर्ष यताकै भीषण भएको बताइएको छ ।

यो युद्धमा लाखौं मानिसको जीवन संकटमा पर्न सक्ने चेतावनी राष्ट्र संघले दिएको छ । राष्ट्र संघले हुदाइदामा आक्रमण हुँदा २ लाख ५० हजार मानिसको जीवन नै संकटमा पर्न सक्ने चेतावनी दिएको छ । त्यहाँ ६ लाख मानिस बसोबास गर्छन् ।

रेड सी बन्दरगाहदेखि दक्षिण क्षेत्रमा रहेका हुथी विद्रोहीलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको हो । गठबन्धनले हुदाइदाहको विमानस्थललाई लक्ष्य बनाएको छ ।

यमनी सेनाले भने स्थलमार्गबाट हुथीविरुद्ध कारवाही चलाइरहेको छ । यमनको एकमात्र तटीय शहर भएकाले हुदाइदाह उक्त मुलुककै ‘लाइफलाइन’ मानिन्छ ।

हाल निर्वासनमा रहेको यमनको सरकारले पनि विद्रोहीबाट यमन पुनः कब्जा गर्न यो शहरलाई मुक्त गर्नु महत्वपूर्ण हुने जनाएको छ । यही बन्दरगाहबाट यमनमा खाद्यान्न आपूर्ति हुने गर्छ ।

हुथीको नियन्त्रणमा रहेका कारण यमनमा यतिखेर खाद्यान्न समस्या देखिएको छ । युएईले बन्दरगाह शहर परित्याग गर्न हुथीमाथि दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

साउदी नेतृत्वको गठबन्धनले हुथीविद्रोहीविरुद्ध सन् २०१५ मार्चदेखि आक्रमण थालेको हो । त्यसयता १० हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।(एजेन्सी)