
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ २० । जिल्ला प्रहरी कार्यालय कैलालीले २९ लाख ८० हजार रुपैयाँ ‘अवैध’ रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारतीय नागरिक अतुल वर्मालाई उक्त रकमसहित पक्राउ गरेको हो ।
शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–२ स्थित नेपाल–भारत सीमानाका गौरीफन्टाबाट वर्मालाई पक्रेको प्रहरीले जनाएको छ ।
वर्मा भारत, उत्तरप्रदेशको पलियाखिरी निवासी हुन् । उनी सो रकम लिएर नेपालतर्फ आउँदै थिए ।
प्रहरीले उनको साथबाट २५ लाख नेपाली रुपैयाँ र तीन लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।
युपी३१एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।
वर्माको साथबाट ६ ओटा विभिन्न बैैंकका ‘एटीएम’ कार्डसमेत प्रहरीले बरामद गरेको छ । उनको साथमा विभिन्न खाली ‘चेक’समेत भेटिएको छ ।
पक्राउ परेका वर्माको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ ।
ठूलो परिमाणको रकम उनले किन लुकाएर ल्याउँदै थिए भन्ने विषय शंकास्पद रहेको प्रहरी उपरीक्षक गिरीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्