५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


‘एटीएम ह्याक’ प्रकरणः ‘ह्याकर’ले प्रयोग गरेका थिए ‘हिट एन्ड रन’को सूत्र


0
Shares

नारायण ढुंगाना (रासस)

काठमाडौं, भदौ १८ । बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौंमा ‘एटीएम’को ‘स्वीच’ नै ‘ह्याक’ गरेर करोडौं रकम निकालियो ।

यति ठूलो रकम निकालिएपनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो ।

एटीएम बुथमा चिनियाँ नागरिकको गतिविधि शंकास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ‘ह्याकर’लाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भएपनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत् छ ।

उक्त घटनामा पहिचान गरिएका ८ चिनियाँ नागरिकमध्ये ६ जना पक्राउ परे । फरार दुईजनाकाबारेमा प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन ।

प्राविधिक विषय भएकाले पनि अनुसन्धानमा ठूलो चुनौती खडा भएको छ ।

प्रहरीले विभिन्न नाकामा राखिएको र एटीएम बुथमा रहेको सीसीटीभीको श्रव्य–दृश्यलाई अनुसन्धानमा प्रयोग गरिरहेको छ ।

यसअघि, ‘पिनकोड’ चोरेर व्यक्तिको रकम निकालिएका घटना थिए । योपटक स्वीच नै ह्याक गरेर बैंकको पैसा निकालिएकाले पनि प्रहरीलाई अनुसन्धानमा थप चुनौती छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको भन्दै फरक प्रकृतिको घटना भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको बताए ।

दुईजना फरार हुनु र अर्काेतर्फ भाषा नबुझ्ने समस्याले घटनाको अनुसन्धान जटिल बन्दै गएको छ ।

अंग्रेजी र नेपाली नजान्ने अभियुक्त छन् भने चिनियाँ भाषा नजानेको प्रहरी छ ।

‘भाषा समस्याले अनुसन्धानमा केही जटिलता भएको छ । समस्याका बीचबाट पनि हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं’–महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने ।

प्रहरीले दोभाषे राखेर घटनाको अनुसन्धान गरिरहेको छ । जसका कारण अनुसन्धानका विषय चुहिनसक्ने समस्या पनि प्रहरीमाथि छ ।

‘एक व्यक्तिबाट अर्काे व्यक्तिमा सूचना जाँदा केही न केही परिवर्तन हुन्छ । अहिले प्रहरीले उक्त घटनामा पक्राउ परेका चिनियाँबाट तेस्रो व्यक्तिमार्फत् सूचना लिइरहेको छ । हामीले बोलेको दोभाषेले कति बुझ्छ, उसले अभियुक्तलाई कति बुझाउन सक्छ, अभियुक्तले बोलेको कुरा दोभाषेले कति बुझ्छ र हामीलाई कति बुझाउन सक्छ, यहीँनिर समस्या छ’–बोगटीले भने ।

प्रहरीले उनीहरुसँग लिएको प्रारम्भिक बयानमा भने घटना स्वीकार गरे पनि अन्य विवरण भने प्रस्टसँग खुलाएको छैन ।

‘प्रमाण संकलन गर्ने काम र सम्बन्धित निकायलाई पत्राचार गर्ने काम भइरहेको छ । डिजिटल फरेन्सिक ल्याबमा अहिले प्राप्त सामग्रीको परीक्षण भइरहेको छ । सबुद संकलन, प्रमाण जुटाउने र प्रारम्भिक बयानको काम गरिरहेका छौं’–प्रनाउ बोगटीले भने ।

अनुसन्धानमा विशुद्ध बैंकको सफ्टवेयर ह्याक गरेर पैसा लुट्ने योजनाभन्दाबाहेक अरू केही नदेखिएको भन्दै उनले भने–‘८ जना संलग्न रहेको पत्ता लागेको छ । अरू बढी कति छन्, अनुसन्धानपछिमात्रै खुल्छ । दुईजना फरार छन् ।’

उनीहरु सबै एकै समयमा काठमाडौं छिरेका थिए ।

घटनाको थप कारण पत्ता लगाउन परिसरले ‘इन्टरपोल’लाई पनि पत्राचार गरिसकेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)समेत अनुसन्धानमा खटिएको छ ।

अनुसन्धान जटिल भएकाले प्रहरीले राष्ट्र बैंकबाट विज्ञ टोली मगाएको छ । विश्वभाषा क्याम्पसबाट पनि आवश्यक सहयोग लिइएको छ ।

विशेषज्ञको उपस्थितिमा काम गर्नुपर्ने भएकाले पनि जटिलताहरु आइरहेको प्रहरीले जनाएको छ ।

नेपालको बैंकिङ प्रणालीमा नै सशंकित पार्नेगरी गत शनिबार काठमाडौंमा उक्त घटना भएको थियो ।

अपराह्न पटक–पटक गरी शंकास्पदरूपमा रु एक करोड ८९ लाख रकम विभिन्न बैंकबाट निकालिएको घटनाले बैंकिङ क्षेत्र तरंगित भएको हो ।

झन्डै सातओटा बैंकबाट पैसा निकालिएको बताउँदै प्रहरीले दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथबाट अधिकांश बैंकको रकम निकालिएको बताएको छ ।

एटीएमका गार्डले विदेशी नागरिकको शंकास्पद गतिविधि देखेपछि बैंकमा खबर गरेका थिए ।

सोही सूचना बैंकमार्फत् आएपछि प्रहरी नायब उपरीक्षक बोगटीकै नेतृत्वमा प्रहरी टोली दरबारमार्ग पुग्दा चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेलापारेका थिए ।

खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटीएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेलापरेपछि एटीएम बुथ नै ह्याक गरेर करोडौं रकम निकालेको रहस्य खुल्यो ।

भाषा नबुझेपछि उनीसँग रहेको होटेलको साँचोका आधारमा प्रहरी हात्तीसारस्थित होटलमा पुगेको थियो ।

होटलको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्नेक्रममा अन्य चार ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए ।

प्रहरी जुन ‘लिफ्ट’बाट ६ तलामाथि चढ्दै थियो, ह्याकरहरु बाहिरिन त्यही लिफ्ट कुरेर बसेका बेला पक्राउ परेका थिए ।

एटीएम बुथबाट झू लियाङ्याङ र होटलबाट लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन पक्राउ परेका थिए ।

चिनियाँमूलका फ्रान्सेली नागरिक छु लुई ली भाग्नेक्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

उनीहरुले नक्कली भिसाकार्ड प्रयोगबाट विभिन्न बैंकको ‘डाटा ह्याक’ गरेर एटीएम बुथबाट एकै दिनमा झन्डै दुई करोड निकालेका थिए ।

प्रहरीले यस्तो प्रकृतिको घटना अहिलेसम्म नभएको दाबी गर्दै आएको छ ।

उनीहरुबाट रु एक करोड २६ लाख २९ हजार ४५, ९ हजार १०८ अमेरिकी डलर, एक हजार १९१ युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, १३२ थान नक्कली भिसाकार्ड, १७ थान सक्कली भिसाकार्ड, एकथान कार्ड प्रिन्टर मेसिन, मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरिएको छ ।

उनीहरुलाई बैंकिङसुरअन्तर्गत्को मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

८ जना चिनियाँ नागरिक उक्त घटनामा संलग्न रहेकामा दुईजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

फरार रहेका चिनियाँ ह्याकरबाट गैरकानुनीरुपमा डलर सटही गरेका ठमेलस्थित डेक्सो मनि एक्सचेन्जका सन्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सन्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ह्याकरले एटीएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै उनीहरुसँग साटेका थिए ।

चिनियाँ नागरिक पक्राउ परेलगत्तै नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीले भेटेर घटनाको जानकारी लिएका थिए ।

उनीहरुले घटनाको सत्यतथ्य छानबिन गर्न अनुरोध गरेको र कुनै दबाब नदिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चिनियाँ अभियुक्तहरुको परिवार नेपाल आइपुगेका छन् । बुधबार बिहान उनीहरुले अभियुक्तलाई भेट गरेको परिसरले जनाएको छ ।

सीसी क्यामेराका श्रव्य–दृश्यबाट खोजिँदै तथ्य

प्रहरीले घटनाको अनुसन्धानका लागि राजधानीको विभिन्न सम्भावित क्षेत्रका र एटीएम बुथको सीसी क्यामेराको श्रव्य–दृश्य मगाएको छ ।

फरार रहेका दुईजनाको पहिचानका लागि प्रहरीले सबै प्रहरी वृत्तलाई निगरानी गर्न निर्देशन दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत अन्य कार्यालयले पनि अनुसन्धानलाई सहयोग गरिरहेको छ ।

ह्याकरले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एसिया, जनता, इन्भेस्टमेन्ट, कुमारी, ग्लोबललगायत सात बैंकको रकम निकालेको प्रहरीले जनाएको छ ।

‘ती बैंकको एटीएमका सबै सीसी क्यामेरा मगाएका छौं । त्यसबाट पनि नयाँ तथ्य खुल्न सक्छ’–प्रनाउ बोगटीले भने ।

यसअघि प्रहरीले पैसा सटही गर्ने व्यक्तिको पहिचान सीसी क्यामेराबाटै गरेको थियो ।

हात्तीसारको होटेलबाट निस्किएको ट्याक्सी पच्छ्याउँदै प्रहरी ठमेलसम्म पुगेको थियो । फरार रहेका ह्याकरहरु ठमेलबाट कता गए भनेर पहिचान भएको छैन ।

केरुङ नाकासम्म पुगेको जानकारी आएकाले अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

ह्याकरले प्रयोग गरेका थिए ‘हिट एन्ड रन’को सूत्र

ह्याकरले ‘हिट एन्ड रन’को सूत्र प्रयोग गरेको पाइएको छ ।

छोटो समयमा काम सक्ने (हान्ने र भाग्ने) योजनालाई अनुसन्धानमा हिट एन्ड रनको सूत्र भनिन्छ ।

भदौ १३ गते शुक्रबार चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका उनीहरु भदौ १७ गते फर्कने योजना बनाएका थिए । होटल तीन दिनका लागिमात्रै बुक थियो ।

बिदाको दिन निगरानी र चहलपहल कम हुने भएकाले उनीहरुले शनिबारलाई उपयोग गरेका थिए ।

योजना भने उनीहरुले विदेशमै बनाएको प्रहरीले पुष्टि गरेको छ ।

शनिबार बिहानदेखि पैसा निकाल्न थालेका उनीहरुले ४ बजेसम्ममा रु एक करोड ८९ लाख निकालेका थिए ।

उनीहरुको शनिबार दिनभरमा काम सकेर आइतबार आवश्यक सफाय गर्ने र सोमबार फर्कने योजना भएपनि प्रहरीले विफल बनाइदियो ।

प्रहरीले मगायो विज्ञ टोली

प्रहरीले घटनाको अनुसन्धानका लागि सूचना–प्रविधिसम्बन्धी विज्ञ टोली मगाएको छ ।

सबै ‘मनिटर’ गर्ने नेपाल राष्ट्र बैंक भएकाले विज्ञ टोलीका लागि बैंकलाई पत्राचार गरिसकेको प्रहरीले जनाएको छ ।

‘आर्थिकसम्बन्धीको ठूलो मुद्दा भएकाले मुख्य निरीक्षण राष्ट्र बैंकले नै गर्ने हो । त्यसैले हामीले विज्ञ टोली उपलब्ध गराइदिन अनुरोध गरेका छौैं’–प्रनाउ बोगटीले भने ।

प्रहरी प्रधान कार्यालयका ‘आइटी’ विज्ञको टोलीसमेत घटनाको अनुसन्धानमा सक्रिय छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले घटनाको छानबिन गरिरहेको बताउँदै त्यसको ‘रिपोर्ट’पछि सबै कुरा खुल्ने बताए । उनले प्रहरीको चिट्ठी हेरेर आवश्यक सहयोग गर्ने राससलाई बताए ।

‘नेप्स’सँग जानकारी लिँदै प्रहरी 

१५ ओटा बैंकको स्वीच उपलब्ध गराउने संस्था ‘नेप्स’ हो । उसले ती बैंकको सफ्वेयर सेवा प्रवाह गर्दै आएको थियो ।

त्यसैले अनुसन्धान र सोधपुछका लागि नेप्सका पदाधिकारलाई बोलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

उनीहरुको प्रविधि, त्यसको प्रयोग र समस्याका विषयमा छलफल हुने प्रहरीले जनाएको छ ।

मंगलबार उनीहरुलाई बोलाइएपनि नआएकाले बुधबार पुनः नेप्सका पदाधिकारीलाई बोलाएको छ ।

‘मुख्य कुरा नै नेप्सको सफ्टवेयरबाट घटना घटेको छ । तपाइँहरुले अनुसन्धानमा सहयोग गर्नु भएन भने थप जटिलता आउँछ भनेर प्रस्ट भनिएको छ । उहाँहरु मंगलबार आउने कुरा थियो, आउनुभएन । आज आउँछौं भन्नुभएको छ’–बोगटीले भने ।

प्रहरीकाअनुसार अहिलेसम्म बैंकबाट रु एक करोड ८९ लाख पैसा निकालिएको छ । त्यसमध्ये एक करोड ५६ लाख र झन्डै १५ हजार अमेरिकी डलर प्रहरीले बरामद गरिएको छ । अझै केही रकम फिर्ता ल्याउन सकिएको छैन ।