
बुटवल । रूपन्देहीको देवदहका गाईले अब बाच्छी मात्रै जन्माउनेछन् ।
देवदह नगरपालिकाले दूध उत्पादन बढाउन गाईलाई सेक्स सिमोन (कृत्रिम गर्भाधानको एक विधि) दिन लागेको छ । यसपछि गाईले बाच्छी मात्रै जन्माउनेछन् ।
कृत्रिम गर्भाधानसँगै एक प्रकारको रसायनयुक्त वीर्य सुईका माध्यमबाट दिइन्छ । यसले महिला मात्रै बन्ने क्रोमोजोम तयार गर्छ । गाईलाई कृत्रिम गर्भाधान गराउँदा योसमेत सँगै दिइन्छ ।
केही विज्ञका अनुसार सेक्स सिमोनका माध्यमबाट गर्भाधान गराउँदा गाईले बाच्छी नै पाउने सम्भावना शतप्रतिशत रहन्छ ।
बाच्छा व्यवस्थापनको झन्झट रोक्न र दूध उत्पादन बढाउन सेक्स सिमोन अभियान ल्याएको नगरपालिका प्रमुख हीराबहादुर खत्रीले बताए ।
दूध उत्पादनमा किसानको लगानी बढी र आम्दानी कम भएको गुनासो आइरहेको छ । यसको विकल्पमा पनि सेक्स सिमोन अभियान ल्याएका हौं,’ उनले भने, ‘गाईले बाच्छी मात्रै जन्माएपछि लगानी कम र आम्दानी बढी हुनेछ ।’ यसअघि नश्ल सुधार कार्यक्रममार्फत नगरपालिकाले दूध उत्पादन अभियान चलाएको थियो ।
नगरपालिकाले सेक्स सिमोन कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । यसबाट १ हजार गाईमा कृत्रिम गर्भाधान गराउने लक्ष्य छ ।
एक डोजलाई ३ हजार रुपैयाँ पर्ने अनुमानसहित १ हजार गाईका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण नेपालले बताए । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्