Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


राष्ट्रिय महिला भलिबलमा गन्डकी र न्यू डायमन्डको विजयी सुरुआत


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ १४ । गन्डकी प्रदेश र न्यू डायमन्ड एकेडेमी काठमाडौंले शनिबारदेखि पोखरामा सुरु राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आ–आफ्नो पहिलो खेल जितेका छन् ।

लामाचौरमा शनिबार बिहान भएको पहिलो खेलमा गन्डकी प्रदेशले पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुल काठमाडौंलाई २५—१४, २५—११ र २५—१५ को सोझो सेटमा पराजित गर्‍यो ।

त्यस्तै, दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले चितवन टाइगर्स क्लबलाई २५—१४, २५—२० र २५—१४ को सोझो सेटमा हरायो ।

शनिबारका अरु दुई खेल अत्यधिक वर्षाका कारण स्थगित गरिएको नेपाल भलिबल संघका उपाध्यक्ष यमबहादुर गुरुङले जानकारी दिए ।

स्थगित खेल आइतबार बिहान हुने जनाइएको छ ।

लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले ‘लामाचौर तीज महोत्सव २०७६’ का अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा ७ ओटा टोली सहभागी छन् । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्राविधिक कारण जनाउँदै सहभागी भएको छैन ।

विजेता टोलीलाई एक लाख १५५, उपविजेतालाई ६५ हजार ५ र तेस्रो हुनेलाई २५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडीले आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । प्रतियोगिता आउँदो सोमबारसम्म चल्नेछ ।

यसअघि, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सोक्रममा उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तर्राष्ट्रियस्तरकै भलिबल प्रतियोगिता आयोजना गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको जनाए ।