Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘माथिल्लो तामाकोसीमा किन ढिलाइ भइरहेको छ ?’ टिपरलाई ‘यमराज’को संज्ञा


0
Shares

काठमाडौं, भदौ १२ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गरे ।

उनले भने–‘आयोजना यो वा त्यो बहानामा विलम्ब नगर्न म सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा भइरहेको ढिलाइले लागतसमेत बढेको छ भन्दै ‘किन त्यस्तो भएको हो ?’ भनी प्रश्न गरे ।

नेकपाका वसन्त नेम्वाङले सरकारले चालू आवभित्र देशका ४० जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्ने भनी ल्याएको योजनालाई सहजरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उज्यालो नेपाल निर्माणको दीर्घकालीन लक्ष्यसहितको कार्यक्रम अगाडि सारेकामा धन्यवाद दिँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनको माग गरे ।

देशव्यापीरुपमा विद्युत्भार कटौतीको अन्त्य गरिएपछि विद्युत्को खपत दरसमेत बढेको छ भन्दै देशव्यापीरुपमा पूर्णरुपमा विद्युतीकरण गर्नेगरी अगाडि सारिएको कार्ययोजनाको कार्यान्वयनपछि त्यसले अर्थतन्त्रमासमेत सकारात्मक प्रभाव पार्ने भनाइ उनले राखे ।

सांसद नेम्वाङले सबै नेपाली जनताको घरघरमा उज्यालो पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई पूरा गर्नका लागि भइरहेको प्रयासलाई सबै क्षेत्रलाई साथ र सहयोग उपलब्ध गराउन आग्रह गरे ।

उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्न आफूहरुको पनि साथ–सहयोग रहने बताए ।

नेकपाका विन्दा पाण्डेले नागरिकतासम्बन्धी विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सदनको ध्यानाकर्षण गराइन् ।

उनले चालू अधिवेशनमा सो विधेयक पारित हुन नसके त्यसबाट प्रभावित हुने नागरिकका लागि शिक्षा र स्वास्थ्य, पेसा, व्यवसाय सहज बनाउनका लागि वैकल्पिक व्यवस्था गर्न माग गरिन् ।

सांसद हृदयेश त्रिपाठीले पनि राज्य व्यवस्था समितिमा लामो समयदेखि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल भएपनि कुनै निष्कर्षमा पुर्‍याउन नसकेका कारण समस्या पैदा भएको गुनासो गरे ।

‘चक्रपथमा यमराज’

बैठकमा राजधानीको चक्रपथमा पैदलयात्रीका लागि सडक वारपार गर्न ‘जेब्राक्रसिङ’ नभएका कारण नागरिकको ज्यान जाने गरेको भन्दै सदन र सरकारको ध्यानार्षण गराइएको छ ।

नेकपाका विरोध खतिवडाले चक्रपथमा जेब्राक्रसिङ नभएका कारण पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरिरहे पनि सरकार र सम्बद्ध निकायले ध्यान नदिएको भनी गुनासो गरे ।

‘अभिभावकले यमराज देखाउन भन्दै आफ्ना बालबालिकालाई चक्रपथमा ल्याएर टिपरलाई देखाउने गरेका छन् । टिपर आतंकका कारण मासिकरुपमा सातजनाको ज्यान जाने गरेको छ । तर, सरकारले टिपर व्यवस्थापनमा ध्यान दिएको छैन’–उनले भने–‘टिपरको बौलाहा दौडाइ रोक्न तत्काल कदम चाल्नुपर्‍यो ।’ रासस