काठमाडौं, भदौ ११ । भारतमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार भुटानसित खेल्दैछ ।
भुटानलाई हराए नेपाल लगभग फाइनलमा पुग्नेछ ।
मंगलबार भएको खेलमा बंगलादेशविरुद्ध ४–१ को जित निकालेसँगै नेपाल दोस्रो स्थानमा छ ।
नेपाल र बंगलादेशको समान ६/६ अंक भएपनि ‘हेड टु हेड’मा नेपाल अगाडि रहेको हो ।
बिहीबार नै बंगलादेशले भारतसित खेल्दैछ । लगातार तीन जितसहित भारत ९ अंकका साथ शीर्ष स्थानमा छ ।
नेपालले भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ ।
तर, बंगलादेशले भारतलाई कम्तीमा ४ गोलको अन्तरले पराजित गर्यो भने नेपाल पछाडि पर्ने सम्भावना हुन्छ । भारत भने बराबरीले पनि फाइनलमा पुग्नेछ ।
प्रतियोगितामा नेपालसहित साविक विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।
‘राउन्ड रोबिन लिग’का आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
अंकतालिकाअनुसार सबै खेल खेलेको श्रीलंका ३ अंकसहित चौथो स्थानमा छ भने अंकविहीन भुटान पुछारमा छ ।
भुटान कमजोर भएकाले पनि नेपालले फराकिलो जित निकाल्ने अपेक्षा गरिएको छ ।
खेल कल्याणी रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।








प्रतिक्रिया दिनुहोस्