काठमाडौं, भदौ ९ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ नेतृत्वका लागि यही भदौ २० गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ ।
उम्मेदवारी दर्ताका लागि बिहान १० देखि दिउँसो २ बजेसम्मको तालिका लोकभक्त राणा संयोजकत्वको निर्वाचन समितिले सार्वजनिक गरेको हो ।
सोमबार मतदाताको अन्तिम नामावलीसमेत सार्वजनिक भएको छ ।
२७ खेलकुद संघबाट मताधिकार प्रतिनिधिको नामावली सार्वजनिक भएको हो ।
उसु, टेबलटेनिस, टेनिस तथा र्याफ्टिङ एन्ड क्यानोइङ संघबाट प्रतिनिधि विवाद परेकामा निर्वाचन समितिले उसुबाट ‘राखेप’का पूर्वसदस्यसचिव केशवकुमार विष्ट, टेबलटेनिसबाट चतुरानन्द वैद्य, टेनिसबाट ज्योति राणा र र्याफ्टिङ एन्ड क्यानोइङ संघबाट राजीव श्रेष्ठको नाम सदर भएको निर्वाचन समिति सदस्य राधिका खतिवडाले जानकारी दिइन् ।
उम्मेदवारी दर्तापछि मंगलबार दिउँसो ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, उम्मेदवारीउपर दाबी–विरोध गर्न भदौ ११ गते बिहान १० देखि २ बजेसम्मको समयसीमा निर्धारण गरिएको छ । सोही दिन अपराह्न ४ बजे दाबी–विरोधउपर निर्णय हुनेछ ।
भदौ १२ गते उम्मेदवारी फिर्ताको समय राखिएको छ । बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन समितिले भदौ २० गते बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदानको समय तोकेको छ ।
यसपटक नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ तथा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्