
चितवन, भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनैजनाको थुनछेक बहस सकिएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरुले बहस गरेका थिए ।
थुनछेक बहस सकिएसँगै सोमबारै फैसला सुनाउने तयारी अदालतले गरेको छ ।
चितवन जिल्ला अदालतले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीसित आइतबार र सोमबार गरी दुई दिन लगाएर बयान लिएको हो ।
झडप र तोडफोड
यता, जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा जारी गरेको निषेधाज्ञाको उलंघन गर्दै लामिछानेका समर्थकहरुले सोमबार दिनभर चितवनका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
लामिछानेका समर्थकहरुले सोमबार नारायणगढदेखि भरतपुरका विभिन्न चोकचोकमा मोटरसाइकल र्यालीको आयोजना गरेका थिए ।
त्यस्तै, भरतपुरको दूरसन्चार रोड र चौबिसकोठीमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो ।
गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास नै प्रहार गर्नुपर्यो ।
सहरका प्रमुख चोकचोकमा ठूलो संख्यामा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
प्रदर्शनकैक्रममा रवि लामिछानेका समर्थकहरुले भरतपुरको हाकिमचोक र बसपार्कचोकनजिक दुईओटा ट्रकमा तोडफोड गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्