Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


गाँजासहित पाँचजना पक्राउ


0
Shares

हेटौंडा, भदौ ३ । मकवानपुर प्रहरीले मंगलबार दुई फरक स्थानबाट १०२ किलोग्राम अवैध लागुऔषध गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत् अवैध लागुऔषध गाँजा ८१ किलो ७६० ग्राम पोकोपारी गाडी कुरेर बसेका सप्तरी, डाक्नेश्वरीका ४० वर्षीय घुरन साहलाई मकवानपुरको राक्सीराङ गाउँपालिकाको पलासे खोलानजिकबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार सिंहको नेतृत्वमा रहेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीले मंगलबारै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा हेटौंडाबाट वीरगन्ज जाँदै गरेको एचआर ५१ एल २४४१ नम्बरकोे भारतीय कारलाई रोकी चेकजाँच गर्नेक्रममा २१ किलो ५०० ग्राम लागुऔषध गाँजा फेलापारी सो गाँजासहित भारतीय नागरिक कारचालक मोतिहारीका २५ वर्षीय मुकेश सहनी, सोही स्थानका २५ वर्षीय राजकुमार, भारत, चिन्तापुरका ओमप्रकाश चौधरी र नेपाली नागरिक पर्सा जिल्लाका जीतेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वमा रहेको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले बताए । रासस