Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


काठमाडौं महानगरपालिकाको भवन कहिले ?


0
Shares

दीपक श्रेष्ठ, राममान डंगोल र दिलिप पोखरेल (इमेज)

काठमाडौं, भदौ ३ । महानगरपालिकाभित्र घरबहाल कर उठाउँदै आएको काठमाडौं महानगरपालिका आफैं भने भाडा तिरेर बहालको घरमा बस्दै आएको छ ।

महानगरपालिका मुख्य कार्यालयलगायतका केही कार्यालयका लागि बहालमा बस्दै आएको हो ।

महानगरमध्ये सबैभन्दा बढी जनसंख्याको बसोबास रहेको काठमाडौं महानगरपालिकाको आफ्नै भवन छैन ।

विगतमा महानगरपालिकाको कार्यालय रहेको वागदरबारस्थित भवन २०७२ सालको भूकम्पले नराम्ररी क्षति पुर्‍याएपछि महानगरपालिका अन्यत्र बहाल तिरेर बसेको हो ।

अहिले महानगरपालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र प्रशासन विभाग सुन्धारानजिकैको भवनमा छ ।

वागदरबारस्थित पुरानो भवनलगायत बबरमहलस्थित कर कार्यालयअगाडिको भवनमा, भृकुटीमन्डप सभागृह, टेकु र  बिजुलीबजारमा विभाग तथा शाखाहरु रहेका छन् ।

वागदरबार पुनःनिर्माणका लागि गुठी संस्थानले अनुमति नदिएपछि अहिले काठमाडौं महानगरपालिका ८ ठाउँमा छरिएर बसेको छ ।

सेवाग्राहीले एउटै कामका लागि तीन/चार ठाउँ धाउनुपरेको र एउटा कार्यालय अर्काेसँग नजिकसमेत नभएकाले थप दुःख खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।

महानगरपालिकाका महाशाखाहरु विभिन्न भवनमा छरिएको र यसले गर्दा महानगरवासीलाई सेवा लिन गाह्रो भएको प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

महानगरपालिकाले नगरवासीलाई सुविधा दिने उद्देश्यले सबै महाशाखा, शाखालगायतका कार्यालय अट्ने गरेर ठूलो भवन भाडामा लिने तयारी गरेको प्रवक्ता डंगोलले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले वडा कार्यालयका भवनहरु निर्माण गर्ने र आवश्यकतानुसार भवनसमेत थप गर्दै आएको छ । तर, आफ्नै भवन भने कहिले र कहाँ बन्छ ? भन्ने कुनै टुंगो लागेको छैन ।

भिडियो हेर्नुहोस्