५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


पत्रकार पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सघाउन सीआइबी टोली चितवनमा


13
Shares

                                  जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको दृष्य

भरतपुर, भदौ १ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्‍याउन काठमाडौंबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली आज चितवन आइपुगेको हो । 

अनुसन्धानमा थप सहयोग पुर्‍याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौंबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताए ।

टोलीले आजैदेखि काम शुरु गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताए ।

‘बाहिर दैनिक रुपमा भइरहेका प्रदर्शनले पनि अनुसन्धानका लागि समस्या हुनेगरेको छ,’ उनले भने, ‘तर हामीले आफ्नातर्फबाट अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।’

तीन दिनदेखिको प्रदर्शनका कारण प्रहरीको सम्पूर्ण शक्ति भीड व्यवस्थापन र नियन्त्रणमा खर्च गर्नुपरेको छ । 

शुक्रबार जिल्ला अदालतले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । उनीहरुलाई बिहीबार प्रहरीले काठमाडौंमा पक्राउ गरी यहाँ ल्याएको थियो ।

यसैबीच पत्रकार पुडासैनीको मृत्यु प्रकरणप्रति नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ ।

यस्तै स्वतन्त्र र निस्पक्ष अनुसन्धानमा सहयोग पुर्‍याउन प्रदर्शनकारीलाई पनि आग्रह गरिएको छ । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठामा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । (रासस)