-सरोज अधिकारी/ईमेज
काठमाडौं । पार्टी एकीरणको सम्पूर्ण प्रक्रिया सकिन लाग्दा नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताप्रति घुमाउरो शैलीमा प्रश्चाताप गरेका छन् ।
आफूलाई उदार, लचक र भावुक नेताको रुपमा चित्रण गर्ने अध्यक्ष दाहाल एकता भएको १५ महिना नपुग्दै किन यसरी बिरक्तिए ? यस विषयलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।
हुनत प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्बन्ध पहिल्यै देखि त्यति राम्रो होइन ।
विगतमा एकले अर्कालाई बैठकबाटै निर्णय गराएर ‘पागल’ भन्न समेत बाँकी राखेनन् । जब जब स्वार्थ मिल्थ्यो, तब उनीहरु मिलिहाल्थे ।
पछिल्लो पार्टी एकीकरण पनि ‘स्वार्थ’ बीचकै मिलन थियो । पार्टी एकीकरण भएपछि दाहालले जे जति शक्ति आफूले प्राप्त गर्ने विश्वास गरेका थिए, दिन बित्दै जाँदा त्यसमा बिस्तारै खिया लाग्दै गयो ।
फेरी पनि ओलीसँगको सम्बन्धमा उतार चढाव भई नै रह्यो । दुई अध्यक्षबीच कुरा गराउन मध्यस्थकर्ता चाहिने अवस्थासम्म पुग्यो ।
अध्यक्ष दाहालले नेतृत्वको कार्यशैलीप्रति बेला बखत तिब्र असन्तुष्टी जनाउँदै आएका थिए । तर पार्टी एकीकरण नै बेकार गरिएछ चाँही भने भनेका थिएन ।
पूर्व एमाले नेता ईश्वर पोखरेल र पूर्व एमाओवादी नेता नारायणकाजी श्रेष्ठले स्कुल विभागमा दावी गरेपछि लामो समय पार्टीले जिम्मेवारी तोक्न सकेन ।
माओवादी पक्षकाले ईश्वर पाखेरेलाई कुनै हालतमा प्रमुख मान्न नसकिने भन्यो । अन्नतः ठिक त्यसको विपरीत पोखरेल नै स्कुल विभाग प्रमुख बने ।
एजेण्डा उठाउने तर, स्थापित गर्न नसक्ने भएपछि फेरि एक पटक दाहाल हारको मानसिकतामा पुगे र भने ‘बरु पार्टी एकीकरण नगरेको भए विकल्प हुन्थ्यो कि ।
स्कुल विभाग पछिल्लो पटकको प्रतिनिधि घटना मात्र हो । यसअघि थुप्रै विषय उठाउने र निर्णय गराउन नसक्ने हुँदा दाहाल गल्दै गएका थिए ।
ओलीले आफू अनुकुल निर्णय गराउन दाहाललाई नयाँ विषयमा आस्वासन दिएर विषयान्तर गर्न थालेपछि दुवै नेताको सम्बन्ध राम्रो बन्न सकिरहेको छैन ।
दाहालले मन्त्री परिवर्तन हुने बताए ओलीले मन्त्रीमण्डल बिस्तार गर्दै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिदिए ।
पूर्व माओवादी पक्षका नेताहरुलाई ओलीले आफ्नो पक्षमा पार्ने खेल खेले, एकतामा ढिलाई गरिदिए ।
पार्टी एकीरण सम्झौतामा आलोपालो अध्यक्षता गर्ने भने पनि दाहालले १५ महिनासम्म एउटै बैठकको नेतृत्व गर्न पाएनन् ।
आफूले कुटनीतिक निकायका व्यक्ति भेट्दा तथा विदेश भ्रमणप्रति जासुसी हुनु र भेनेजुएला प्रकरणमा एक्लो हुनुलगायतका विषयले दाहाल ओलीसँग भित्र भित्रै चिडिँदै गएका छन् ।
यही बीचमा ओलीले सिके राउतसँग आफ्नो तुलना गरी दिएपछि दाहालले आफूलाई थप अपमानित भएको महसुस गरेको चर्चा चल्यो ।
अझ सरकार बनेको लामो समय बितिसक्दा पनि द्वन्द्वकालीन मुद्धा टुंग्याउनेतर्फ ध्यान नदिनु, बरु द्वन्द्वकालीन मुद्धाको विषय ओली निकट व्यक्तिहरुबाट नै उठिरहनु जस्ता घटनाले दाहाललाई आशंका बढीरहयो ।
पार्टीभित्र महत्वपूर्ण संरचनाको नेतृत्व पूर्व एमाले पक्षबाटै हुनु र आफूलाई अप्ठ्यारो पार्ने गरी निर्णय गराइनुले पनि दाहाल ओलीसँग आजित बनेको उनका निकटका नेताहरु बताउँछन् ।
जतिसुकै आजित भए पनि दाहाल अहिले फर्कन सक्ने बिन्दुमा छैनन् ।
ओलीको रिसमा अर्का नेता माधवकुमार नेपालसँग सम्बन्ध बढाउन खोज्दा पनि दीर्घकालीन नहुने भएपछि दाहाल उत्सायी भन्दा बढी निरासातर्फ धकेलिएको हो कि भन्ने आशंका बढेको छ ।
सायद त्यही भएर नै दाहालले पार्टी एकीकरणप्रतिको आफ्नै कदममा यति चाँडै पश्चातापपूर्ण अभिव्यक्ति दिए कि ?









प्रतिक्रिया दिनुहोस्