ताप्लेजुङ, साउन ३२ । रेडहर्ष क्लब इलाम ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा रेडहर्षले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ‘टाइब्रेकर’मा ३–२ ले पराजित गर्यो ।
त्यसअघि, निर्धारित् समयमा दुवै टोलीले एक/एक गोलको बराबरी खेलेका थिए । फोफोनाको गोलमा रेडहर्षले अग्रता लिएको थियो । फिदिमका लागि मनोज गुरुङले बराबरी गोल फर्काए ।
‘पेनाल्टी सुटआउट’मा रेडहर्षका टेम्पे, फोफोना र विवेक राईले गोल गरे । प्रदीप विष्ट र हरि सिटौला गोल गर्न चुके । उनीहरुको फितलो प्रहारलाई फिदिमका गोलरक्षक सुरेश गुरुङले बचाए ।
फिदिमका लागि सरन बस्नेत र गजिन राईले गोल गरे । प्रविन जबेगु र जमिन लक्समको प्रहारलाई रेडहर्षका गोलरक्षक सौरभ सुवेदीले बचाएका थिए । मनोज गुरुङको प्रहार गोलपोस्टमाथिबाट बाहिरियो ।
रेडहर्षका गोलरक्षक सुवेदी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत् आइतबार बेलबारी फुटबल क्लब मोरङ र डाँगीहाट क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्