
विकास पौडेल (इमेज)
चितवन, साउन ३१ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको हो ।
न्यायाधीश विनोदकुमार गौतम शर्माको एकल इजालासले उनीहरुलाई थुनामा राख्ने निर्णय गरेको हो ।
प्रतिवादी लामिछानेको तर्फबाट सुशीलकुमार पोखरेल र वादीको तर्फबाट सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले आ–आफ्नो धारणा राखेका थिए ।
यस्तै, प्रहरीले पनि अदालतसमक्ष आफ्नो प्रमाण पेस गरेको छ ।
लामिछानेसहित तीनैजनामाथि अनुसन्धान सुरु हुने चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
तीनैजनालाई आत्महत्या दुरुत्साहनको अभियोगमा प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएको थियो ।
यही साउन २० गते राति चितवनको नारायणगढस्थित पोखरा बसपार्कनजिकैको कंगारु होटेलमा झुन्डिएको अवस्थामा पत्रकार शालिग्राम पुडासैनीको शव फेलापरेको थियो ।
पुडासैनीको मर्नुअघिको भिडियो सार्वजनिक भएपछि घटना रहस्यमय बन्दै गएको हो ।
सार्वजनिक भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको आरोप पुडासैनीले लगाएका छन् ।
पक्राउ पर्नुभन्दापहिले लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको र प्रहरीले अनुसन्धान गर्दा दोषी भेटिए आफू कारबाहीको भागीदार हुने धारणा फेसबुकमार्फत् सार्वजनिक गरेका थिए ।
मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ ।
आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
लामिछानेका समर्थकहरुले भने उनको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय र अदातलबाहिर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्