Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


अफगानिस्तानविरुद्धको दुवै मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी


0
Shares

काठमाडौं, साउन ३० । आउँदो भदौ २ गतेदेखि नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताअघि भएका दुवै मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

नेपालले अफगानिस्तानलाई दुवै खेलमा हराएको हो ।

बिहीबार नेपालले दोस्रो खेलमा अफगानिस्तानमाथि उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित हासिल गर्‍यो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल नियमित कप्तान इम रानाबिना उत्रिएको थियो ।

बुधबारको पहिलो खेलमा चोट बोकेपछि इम नखेल्दा धनबहादुर भट्टको कप्तानीमा कोर्टमा उत्रिएको नेपालले सुरुआती दुई सेट गुमाएपनि त्यसपछिका तीनओटै सेट जितेको हो ।

नेपाल २२–२५, १५–२५, २६–२४, २६–२४ र १५–१२ ले विजयी भयो । बुधबारको खेलमा पनि नेपाल ३–२ ले विजयी भएको थियो ।

एसियाली भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछन् ।

मैत्रीपूर्ण खेलका लागि अफगानी टोली मंगलबारै काठमाडौं आएको थियो । अरु टोली शनिबारसम्म आइपुग्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।