Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


प्रतिनिधिसभाको शून्य र विशेष समयमा उठेका विषयप्रति सरकार गम्भीर नभएको आरोप


0
Shares

काठमाडौं, साउन २६ । प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा उठेका विषयप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरुले शून्य र विशेष समयमा आफुहरुले दैनिकजसो राष्ट्रिय सरोकारका विषय उठान गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए । उनीहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र उपस्थित भई जानकारी गराउनु पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था कार्यान्वयन गर्न सभामुखको ध्यानाकर्षण गराए ।

आज बसेको बैठकको शून्य समयमा सांसदद्वय अमरेशकुमार सिंह र इन्द्रकुमारी विश्वकर्माले शुक्रबार यात्रुबाहक बस त्रिशुली नदीमा खसेर ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था मिलाउन माग गरे ।

सांसदहरुले सडक सुरक्षा गर्न नसकेकाले दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसदहरु अमृताकुमारी अग्रहरी, कृष्णभक्त पोखरेल र गौरीशंकर चौधरीले बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापना गर्न सरकारसँग माग गरे ।

सांसद आशाकुमारी विकले ट्याक्सी चालकले नियमविपरित यात्रुसँग चर्को भाडा असुल गर्ने गरेको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद खगराज अधिकारीले कालीगण्डकी डाइभर्सनपछि तराई तथा पहाडका केही जिल्लामा सिँचाइ सुविधामा अवरोध हुने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

सांसद झपटबहादुर रावलले सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रको पुनर्स्थापना गर्न माग गरे ।

यसैबीच, प्रतिनिधिसभाको आज बसेको बैठकले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले प्रस्तुत गरेको बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक,२०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ ।