Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सोचेअनुरुपको संघीय संरचना बनेन : दाहाल


0
Shares

काठमाडौं, साउन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा आफूले सोचेअनुरुपको संघीय संरचना बन्न नसकेको बताएका छन् ।

चौथो सामुदायिक वन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनतालाई सुविधा दिने उद्देश्यले तयार पारिएका स्थानीय तहबाट जनताले सम्पूर्ण सेवा–सुविधा पाउन नसक्दा ‘गाउँमा गाउँमा सिंहदरबार’को नारा सोचेअनुरुप कार्यान्वयन हुन नसकेको बताए ।

उनले पुरानो राज्य प्रणालीअन्तर्गत् प्रशिक्षित केही कर्मचारीले सम्पूर्ण अधिकार केन्द्रमै राख्न चाहेको आरोपसमेत लगाए ।

अध्यक्ष दाहालले देश विकासका लागि नेकपा सरकारको विकल्प नरहेको जिकिर गरे ।

समृद्ध देश निर्माणका लागि नेकपाको सरकार असफल भए अरु कुनैपनि पार्टीबाट त्यो सम्भावना नरहेको उनको भनाइ थियो ।

सामुदायिक वनलाई प्रोत्साहित गर्ने नीति सरकारको रहेको बताउँदै उनले सामुदायिक वनको सदुपयोग गरेर काठको आयात घटाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष अशोक बेन्जुले संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारलाई संसदमा पेस भएका विधेयकले खुम्चाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा सामुदायिक वनको विकास र विस्तारमा योगदान पुर्‍याउनेहरुलाई सम्मान गरिएको थियो ।