२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


प्रधानमन्त्रीले शिलान्यास गरेको राँके–रबी–भेडेटार सडक अनुगमन गर्दै मन्त्री नेबाङ्ग


0
Shares

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेबाङ्गले राँके–रबी–भेडेटार सडक निर्माणलाई गतिदिन मन्त्रालयले तत्कालै उपयुक्त निर्णय लिने बताउनु भएको छ ।

आईतबार यस सडक निर्माणमा देखिएका समस्या सम्बन्धी धनकुटाको बुधबारेमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री नेम्बाङ्गले राँके–रबी–भेडेटार सडक खण्ड निर्माणमा देखिएको समस्याप्रति स्थानीय जनप्रतिनीधि र स्थानीयवासीहरुलाई जस्तै आफुलाई पनि चासो रहेकाले दोस्रो पटक मन्त्रालयका टिम नै लिएर स्थलगत अनुगमन र अन्तरक्रिया गर्न आएको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘यो ढिलासुस्ती संधै हुन्न हामी फर्किएर गहन छलफल गरी निर्माण कार्यलाई गति दिन एउटा निर्णयमा पुग्नेछौ ।’

छिटो निर्माण कार्य सम्पन गर्न ठेक्का तोडेर जानु पर्ने भयो भने पनि हामी त्यो कार्यलाई अगाडी बढाउने छौ ।

उहाँले निर्माण कार्यमा देखिएका समस्यालाई समाधान गर्न स्थानीय जनप्रतिनीधि र सरोकावालाहरुले दिएको गहन सुझावलाई आत्मसाथ गर्दै नीतिगत रुपमा गर्नु पर्ने सुधारहरु मन्त्रालयले गर्ने बताउनु भयो ।

मन्त्री नेम्बाङ्गले समस्याको समाधान सिर्जनात्मक, सकारात्मक र समन्वयात्मक भूमिकाले मात्र हुने भन्दै निर्माण व्यवसायीले कामको जिम्मा लिएपछि समयमै सम्पन्न गर्नु पर्ने धारणा राख्नु भयो ।

उहाँले निर्माण कार्यमा केहि नीतिगत समस्या देखिएपनि कामलाई नै अवरोध हुने किसिमको नभएको उल्लेख गर्नु भयो ।

मेची र कोसी राजमार्ग जोड्ने यस सडक कालोपत्रेका लागि २०७५ पुष २० गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको थियो ।

यस आयोजनाका लागि भारतको आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अमेरिकी डलर ३ करोड २६ लाख १८ हजार ५ सय ४१ मा ठेक्का सम्झौता भएको हो ।