Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्व घट्यो, ५ अर्बको लक्ष्य भेट्न मुस्किल


0
Shares

काठमाडौं, मंसिर २७ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहले मंसिर महिनामा लक्ष्यको ५० प्रतिशत मात्र राजस्व संकलन गर्ने भएको छ ।

पछिल्लो समय आयात घटेकाले राजस्व संकलनको लक्ष्य पूरा गर्न नसक्ने भएको बन्दरगाहका सूचना अधिकारी जगदीश पूर्वेले जानकारी दिनुभयो ।

बन्दरगाहलाई मंसिर महिनामा ५ अर्ब राजस्व संकलनको लक्ष्य दिइएको छ ।

भन्सार कार्यालयले मंसिर २१ गतेसम्म जम्मा २ अर्ब १० करोड मात्र राजस्व संकलन गरेको छ ।

यो कुल लक्ष्यको ४२ दशमलव ७० प्रतिशत मात्र हो ।

चालु आर्थिक वर्षको १२ महिनाको लागि भन्सार कार्यालयले ४४ अर्ब ६३ करोड ३२ लाखको राजस्व लक्ष्य छ ।

साउनदेखि कात्तिकसम्मको प्रथम चौमासिकमा सिर्सिया सुक्खा बन्दरगाहले ११ अर्ब ४२ करोड ५४ लाख ५५ हजार राजस्व लक्ष्य पाएकोमा ९९ दशमलव ५७ अर्थात ११ अर्ब ३७ करोड ६१ लाख ४० हजार राजस्व लक्ष्य असुली गरेको छ ।

कार्यालयले साउनमा १ अर्ब ७८ करोड २७ लाख लक्ष्य पाएकोमा १ अर्ब ८६ करोड ६ लाख, भदौमा ३ अर्ब १२ करोड ५७ लाख लक्ष्य पाएकोमा २ अर्ब ५१ करोड ८७ लाख, असोजमा ४ अर्ब ४६ करोड २६ लाख राजस्व लक्ष्य पाएकोमा ३ अर्ब ८७ करोड ९६ लाख र कात्तिकमा २ अर्ब ५ करोड ४२ लाख लक्ष्य पाएकोमा ३ अर्ब ११ करोड १९ लाख राजस्व संकलन गरेको थियो ।