Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


मानवअधिकारवादीलाई सोधपुछ गरिएकोप्रति ध्यानाकर्षण


0
Shares

काठमाडौं, साउन २२ । राष्ट्रियसभाका सांसदले मानवअधिकारवादीहरुलाई प्रहरीले टेलिफोनमार्फत् गरेको सोधपुछप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा सांसद राधेश्याम अधिकारीले ‘मानवअधिकारको क्षेत्रमा स्थापित व्यक्तित्व दमननाथ ढुंगाना, कृष्ण पहाडी र चरण प्रसाईंलाई प्रहरीद्वारा अनपेक्षित प्रश्न सोधाएर आमजनमानसमा भय–त्रास सिर्जना गर्न खोजेको त होइन ?’ भनी प्रश्न गरे ।

सांसद अधिकारीले ‘मानवअधिकारीवादीलाई प्रहरी प्रधान कार्यालयबाट अज्ञात प्रहरीले टेलिफोन गरी कुन संस्थामा आबद्ध हुनुहुन्छ ?’ भनी सोधेको विषयसम्बन्धी समाचारप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद डा. विमला पौडेलले नेपाली टेलिभिजनहरुका समाचारमा पढ्न र सुन्न नसक्ने व्यक्तिको सुसूचित हुने अधिकारका लागि आवश्यक मात्रामा दोभाषेको व्यवस्था नभएको गुनासो गरिन् ।

उनले सबै टेलिभिजनलाई कम्तीमा दिनमा एकपटकको समाचारमा दोभाषेको व्यवस्था गर्ने नीतिको पालना गराउन माग गरिन् ।

सांसद सुमनराज प्याकुरेलले हालैको बाढी र डुबानबाट पीडित जनताको जमिनमा वर्षे खेती नहुने अवस्था रहेकाले हिउँदे खेतीको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । रासस