Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


तत्काल तेस्रो विश्वमा खोप सर्वसुलभ हुने सम्भावना छैन


0
Shares

काठमाडौं । न्युयोर्क टाइम्समा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टअनुसार विश्वभर कोरोना भाइरसविरुद्ध ५८ वटा खोप मानव शरीरमा परीक्षणमा छन् । मानव शरीरमा परीक्षण सकिएका सातवटा खोपले केही देश र क्षेत्रमा आपत्कालीन प्रयोगको अनुमति पाएका छन् ।

तीमध्ये १३ वटा खोप तेस्रो चरण परीक्षणमा छन् । १७ वटा दोस्रो र ४१ वटा खोप पहिलो चरण परीक्षणमा छन् । अन्य कम्तीमा ८६ वटा खोप त्यसभन्दा अघिल्लो चरण अर्थात् वन्यजीवमा परीक्षण भइरहेका छन् ।

कोरोना भाइरस रोकथामका लागि खोप नै एक मात्र विकल्प देखिँदै गर्दा हालसम्म विश्वभर एकसाथ ठूलो संख्यामा प्रयोग गर्न मिल्ने गरी कुनै खोपले मान्यता पाएका छैनन् ।

अमेरिकाको फाइजर र जर्मनीको बायोन्टेक कम्पनी मिलेर बनाएको खोपलाई बेलायतले आपतकालीन प्रयोग अनुमति दिएको छ ।

चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले बनाएको ‘एडी–फाइभ’ नामक खोपलाई चिनियाँ जनमुक्ति सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिएको छ ।

रुसी खोप स्पुतनिक फाइभ पनि आपतकालीन प्रयोग हुन थालेको छ । रुसमै इपिभाक नामक खोपले प्रयोग अनुमति पाएको छ । यस्तै, वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रडक्टस्ले तयार पारेको खोपलाई संयुक्त अरब इमिरेट्स (युएई)ले प्रयोग अनुमति दिएको छ ।

चीनकै सिनोफर्माले तयार पारेको खोपलाई पनि युएईले प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनीले सिनोभाक बायोटेकले बनाएको खोपले चीनभित्र प्रयोगका लागि अनुमति पाएको छ ।

तथापि, हालसम्म कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि सुलभ भएको छैन । र, त्यसका लागि अझै केही समय पर्खिनुपर्नेछ । आपत्कालीन प्रयोग अनुमति पाएका खोपहरूले भने महामारीविरुद्धको लडाइँमा संसारभर आशाको सञ्चार गराएका छन् ।

खोप नै सबैभन्दा प्रभावकारी

खोपलाई चिकित्सा विज्ञानमा सबैभन्दा भरपर्दाे मानिन्छ । त्यसैले हो, आधुनिक चिकित्सा विज्ञानमा खोपलाई अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको पनि ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरूको भनाइमा विभिन्न रोगविरुद्ध निर्मित खोपले हरेक वर्ष २० देखि ३० लाख मानिसको मृत्यु रोक्छन् । हालसम्म २० भन्दा बढी प्राणघातक रोग फैलिन नदिन खोप नै अचुक औषधि बनेको छ ।

तर, ती खोप सजिलै तयार भएका होइनन् । वैज्ञानिकहरूको वर्षौँको मिहिनेतपछि मात्र ती खोप उपलब्ध भएका हुन् । सामान्य अवस्थामा खोप निर्माण, उत्पादन र ढुवानीका लागि पाँचदेखि १० वर्ष लाग्छ । कोरोना भाइरसविरुद्धको खोपको कुरा बेग्लै छ ।

यसपटक ती सबै प्रक्रिया र सीमितता घटाउँदै वैज्ञानिकहरू केही महिना अन्तरालमै सर्वसाधारणमाझ खोप पु¥याउन लागिपरेका छन् । तथापि, कोरोना भाइरसविरुद्धको खोपले मानव शरीरलाई बचाउन सक्ने क्षमता र प्रयोगका लागि कति सुरक्षित भन्ने विषय अनुसन्धानकै चरणमा छ ।

जस्तो– आपत्कालीन प्रयोगका लागि अनुमति पाएका खोपको प्रभावकारिता पनि ९० देखि ९५ प्रतिशतसम्म देखिएको छ ।

यसको अर्थ खोप लगाएका १० मध्ये नौजनामा कोभिड–१९ को जोखिम हुनेछैन । संसारभरका मानिसलाई उत्साहित बनाएको समाचार पनि यही हो ।

तर, ती सबै खोप ठूलो संख्यामा परीक्षण भएका छैनन् । विभिन्न उमेर समूह, हावापानी र शारीरिक बनावटका मानिसलाई दिनुपर्ने भएकाले पनि ती खोपको प्रभावकारिता अहिले नै सिद्ध हुन मुस्किल छ ।

रोग लागेका मानिसलाई मात्र होइन, स्वस्थ व्यक्तिलाई पनि यी खोप दिइनेछ । मुख्य पक्ष त कोरोना भाइरस प्रसार नै हुन नदिने अवस्था सिर्जना गराउनुछ ।

खोप सर्वसुलभ हुनुअघि वर्षाैँ अनुसन्धान र परीक्षण गरिनुको कारण पनि त्यही हो । हाल निर्माण भइरहेका सबै खोप सफल हुन्छन् भन्ने छैन ।

कतिपय अन्तिम चरणको परीक्षणमा पुगेर असफल हुन सक्छन् । कुनै खोप परीक्षणमा सहभागीहरूमा समस्या देखिएपछि रोकिन्छन् र फेरि अनुसन्धान अगाडि बढाइन्छ ।

कहिलेसम्म आइपुग्ला खोप ?

खोप निर्माणमा लागिपरेका देश र कम्पनीहरूले सन् २०२० अन्त्यसम्ममा खोप उपलब्ध हुने दाबी गर्दै आएका छन् । संसारभर खोप पुर्‍याउने दायित्व रहेको डब्लुएचओले भने सन् २०२१ को मध्यभन्दा अगाडि खोप सर्वसुलभ हुने सम्भावना कमजोर देखिएको बताउँदै आएको छ ।

सन् २०२१ को मध्य अर्थात् जुन, जुलाईदेखि भने संसारभर खोप सर्वसुलभ हुने डब्लुएचओको भनाइ छ ।

युरोपमा धेरै चर्चा कमाएको फाइजर र बायोन्टेकले निर्माण गरेको खोपले ९० प्रतिशत मानिसलाई कोभिड–१९ हुनबाट बचाउने दाबी ती कम्पनीको छ ।

र, सन् २०२० को अन्त्यसम्ममा पाँच करोड डोज खोप उपलब्ध गराउने बताएका छन् । जब कि, उक्त खोप प्रयोग गर्न अनुमति दिएको बेलायतकै जनसंख्या करिब ६ करोड ७८ लाख छ ।

सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज खोप उत्पादन गर्ने दुवै कम्पनीको लक्ष्य छ । त्यो पनि युरोपको करिब ७४ करोड ७८ लाख जनसंख्यामा दिइसकेर मात्र अन्य विश्वले प्राप्त गर्न सक्ने आकलन गर्न सकिन्छ ।

यस्तै, बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप उत्पादन र वितरण जिम्मा पाएको ब्रिटिस–स्विडिस बहुराष्ट्रिय कम्पनी अस्ट्राजेनेका पनि ठूलो परिमाणमा खोप उत्पादनको तयारीमा छ ।

अक्सफोर्डको खोप सफल देखिएमा बेलायतका लागि १० करोड डोज र विश्वभरलाई दुई अर्ब डोज उत्पादन गर्ने बताउँदै आएको छ । अरू दर्जनौँ कम्पनीले पनि खोप उत्पादन र वितरण सम्झौता गरेका छन् । तर, त्यसका लागि त पहिले उनीहरूले सम्झौता गरेको खोप सफल देखिनु अनिवार्य छ ।

रुस कोरोना भाइरसविरुद्ध खोप निर्माण गर्ने र आपत्कालीन प्रयोगको अनुमति दिने पहिलो मुलुक हो । रुसले गत अगस्टमै स्पुतनिक–फाइभलाई मान्यता दिएको थियो ।

स्पुतनिक–फाइभ ९५ प्रतिशतसम्म प्रभावकारी रहेको निर्माणमा संलग्न विज्ञहरूले दाबी गरेका छन् । उक्त खोपको गम्भीर साइड इफेक्ट नदेखिएको उनीहरूको दाबी छ । तर, स्पुतनिक–फाइभ पनि ठूलो जनसंख्यामा परीक्षण भएको छैन ।

स्पुतनिक–फाइभ दुई चरणमा लगाउनुपर्नेछ । पहिलो चरणको ‘डोज’ लगाउन हजारौँले नाम टिपाएका छन् । त्यसरी नाम टिपाएकाहरूलाई पनि तत्काल खोप उपलब्ध हुने सम्भावना छैन ।

किनकि, रुसले ठूलो परिमाणमा खोप उत्पादन गर्न सकिरहेको छैन । सन् २०२० अन्त्यसम्म २० लाख डोज मात्रै उत्पादन गर्न सकिने खोप निर्माता कम्पनीले जनाएको छ । रुसकै जनसंख्या करिब १४ करोड ४५ लाख छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले यसै सातादेखि सर्वसाधारणलाई खोप दिन थालिने बताएका छन् ।

पहिलो चरणमा विद्यालय, स्वास्थ्य केन्द्र र सामाजिक काममा खटिएका मानिसलाई खोप दिइने उनको भनाइ छ । मस्कोको मात्र जनसंख्या करिब एक करोड २५ लाख छ । पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाउनुपर्ने रुसी वैज्ञानिकहरूको भनाइ छ ।नयाँपत्रिका