
नवीन सिंह (इमेज)
जनकपुरधाम, साउन २१ । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयरबीचको विवादले भएको झडपमा परी उपमेयरसहित आधादर्जन व्यक्ति घाइते भएका छन् ।
मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच नगरपालिकाको कार्यालय सार्ने सम्बन्धमा भएको विवादमा मंगलबार स्थानीयवासी र प्रहरीबीच झडप भएको हो ।
झडपकाक्रममा प्रहरीको लाठीचार्जबाट आधादर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् ।
प्रहरीको सहयोगमा मेयर मण्डल पक्षले उपमेयर झाले सन्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री झिक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।
झडपमा परी उपमेयर झा र वडा नम्बर–२ का अध्यक्ष उदय साहसहित आधादर्जनभन्दा बढी घाइते भएका छन् ।
घाइते तपेश्वर मण्डललाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
मेयर मण्डल पक्ष घरेलु हातहतियार र ट्याक्टरसहित ५०/६० जनाको समूहमा आएको बताइएको छ ।
तर, उपमेयर पक्षले प्रतिकार गर्न खोज्दा झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको जनाइएको छ ।
घटनास्थलमा तारापट्टी, बेलही, धनुषाधामलगायतका प्रहरीचौकीबाट दर्जनौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी लगेर परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्